२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, बुद्ध दर्शनको मुहान नै होः गणेशप्रसाद तिमिल्सिना

१४ कात्तिक, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए ।  आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम गरेको धारणा राखे ।

उनले बुद्धले शान्ति र अहिंसाका लागि दिनुभएको सन्देश अहिले झनै मानवजातिको लागि सान्दर्भिक भएको बताए । अध्यक्ष तिमिल्सिनाले अहिलेपनि विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायका बिचमा हत्या, हिंसा भइरहेको भन्दै यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्ने बताए ।

उनले बुद्ध दर्शनको अद्धितीय गुण जीवन र प्रकृति प्रतिको नविनतम् सोच भएको पनि उल्लेख गरे । उनले भने – ‘आजभन्दा २ हजार पाँचसय वर्ष अगाडी गौतम बुद्धले शान्ति र अहिंसाको लागि दिनुभएको शन्देश अहिलेको समयमा सिंगो मानव जातिका लागि अझ बढी सान्दर्भिक भइरहेको छ । लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, बुद्ध दर्शनको मुहान नै हो ।

बुद्ध दर्शनले बाह्य विश्वलाई नेपाललाई चिनाउने र नेपाली सँग जोड्ने काम पनि गरेको छ । विश्वका जुनसुकै स्थानमा रहेपनि हामी मानव जाति एक हौँ र एक हुनुपर्दछ । विश्वमा अहिले एक देश र अर्को देश, एक जाति र अर्को जाति, एकै देशका पनि एक भाग र अर्को भाग भनेर झैझगडा गर्ने र युद्धकै स्थितिमा पुग्ने अवस्था छ ।

विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायको नाममा हत्या हिंसा भइरहेका छन् । यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्दथ्यो । तर विडम्बना त्यो भइरहेको छैन । विज्ञान र प्रविधिमा मानव जातिले गरेको विकास पनि मानव जातिको हित, शान्ति, विकास र समृद्धिका लागि हुनुपर्दथ्यो । बुद्ध दर्शनको अद्धितिय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नविनतम् सोच हो ।’

अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनलाई मानव सशक्तिकरणको दर्शनको संज्ञा दिनुभयो । बुद्ध दर्शन व्यक्तिको अनुशासन र समाजको रुपान्तरण गर्ने प्रक्रिया रहेको पनि उनले बताए । बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानविय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु रहेको उनले बताए ।

उनले भने – ‘बुद्ध दर्शनलाई मानव शसक्तीकरणको दर्शन भन्न सकिन्छ । बुद्ध दर्शन मानवताको पुर्नखोज हो । व्यक्तिको अनुशासन, रुपान्तरण र आफ्नो उदाहरणीय व्यवहारद्धारा समाजको रुपान्तरण गर्ने प्रक्रिया हो । यसको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानवीय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु हो ।

हत्या, हिंसा र द्धन्दका विच शान्ति सम्भव हुँदैन । अहिंसा र शान्ति बुद्ध दर्शनको गुँदी हो भन्ने मेरो विश्वास छ । तसर्थ मानव जातिले गरेको विकासका प्रकृतिको संरक्षण गर्ने, स्वच्छ वातावरण कायम गर्ने, न्याय, समानता, सुशासन र समृद्धिका लागि उपयोगी हुनुपर्दछ ।’ अध्यक्ष तिमिल्सिनाले मानव–मानव विचको विभेद अन्त्यको लागि सबैको संगठित प्रयास हुनुपर्ने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १७:४९