१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बाढी पीडितको राहत रकम समयमै वितरण नर्दा फ्रिज भयाे

८ साउन,विराटनगर । मोरङ जिल्लाका बाढीपीडित समुदायलाई वितरण गर्न आएको राहत रकम समयमै वितरण गर्न नसक्दा करोडौँ रकम ‘फ्रिज’ भई फिर्ता गएको छ ।

गृह मन्त्रालयबाट मोरङको कटहरी गाउँपालिकाको बाढी पीडितलाई वितरण गर्न रु तीन करोड ८९ लाख २५ हजार आएको थियो । कटहरी गाउँपालिकाले सो रकम गत असार मसान्तसम्म वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तभित्र वितरण गर्नुपर्ने रकम स्थानीय निकायले वितरणमा ढिलाइ गर्नाले नै रकम फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फ्रिज भएर र्फिता गएपछि आज प्रमुख जिल्ला अधिकारी, कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा प्रहरी प्रमुखबीच यस सम्बन्धमा छलफल भएको छ ।

मोरङका प्रजिअ रामप्रसाद आचार्यले रकम वितरणका लागि पटकपटक पत्राचार गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेकाले रकम फिर्ता भएको हो भन्नुभयो ।

केन्द्रबाट पठाएको रकम स्थानीय निकायबाट वितरण हुन नसक्दा र्फिता भएकाले यसको समाधान केन्द्रस्तरबाट हुनुपर्ने उहाँले बताउनुभयो ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बाढी पीडितको रकम आर्थिक वर्षको अन्त्यसम्ममा वितरण गरिसक्नु पर्ने जानकारी प्रशासनले नगराएको बताउनुभयो । उहाँले उक्त फिर्ता भएको रकम आउने वातावरण बनाउन प्रजिअ आर्चायसँग आग्रह गर्नुभयो । कटहरी गाउँपालिकाले बाढी पीडितलाई आएको रकम वितरण नगरेपछि स्थानीयवासीले गाउँपालिका घेराउ गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १९:१६