यस कारण कबिरले गरेनन् टाइगर फ्रेञ्चाइज निर्देशन
१० कात्तिक, काठमाडाैँ । बलिउडका भाइजान सलमान खानलाई ‘बजरंगी भाइजान’ जस्तो फिल्म दिएका निर्देशक हुन्, कबिर खान । उनले सलमानसँग ‘एक था टाइगर’मा काम गरेका थिए । उक्त समयमा सलमानको फिल्ममा कथासहितको मनोरंजन भन्ने प्रतिक्रिया फिल्मलाई प्राप्त भएको थियो ।
त्यसपछि यस जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रूपमा लिइयो । फिल्ममा मनोरंजन त थियो नै, साथमा दमदार कथा पनि । तर, त्यसपछि यी दुई जनाको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो ।
यद्यपि, ‘एक था टाइगर’ निर्देशन गरेर कबिरले सलमानलाई एक हिट फ्रेञ्चाइज दिएका थिए । फिल्म त सफल रह्यो नै, यसको सिरिजको प्रतीक्षामा दर्शक बस्न थाले । एजेन्ट र आएसआई एजेन्टको प्रेम कथालाई समेटिएको फिल्मले दर्शकको मन जित्यो । यसको सिक्वेल ‘टाइगर जिन्दा है’लाई अली अब्बास जफरले निर्देशन गरे । दोस्रो भागलाई पनि दर्शकले उत्तिकै रुचाए । बक्स अफिसमा टाइगर सिरिजलाई ‘ब्लकबस्टर’ मानिन्छ । यतिबेला यसको तेस्रो भागको छायांकन भइरहेको छ, जसलाई मनीष शर्माले निर्देशन गरिरहेका छन् ।
यद्यपि, दर्शकले कबिरलाई टाइगरको फ्रेञ्चाइज निर्देशन गरेको हेर्न चाहन्छन् । हालै एक फिल्म फेस्टिभलमा यसबारे बोल्दै निर्देशक कबिरले आफ्नालागि उक्त फिल्मको कथा ‘एक था टाइगर’मै सकिएको बताए । ‘मेरालागि सोही फिल्ममा कथा, क्यारेक्टर सकियो । त्यस क्यारेक्टरमा म सोच्न र बाँच्न सक्दिनँ । मसँग कथा नभएको पनि होइन तर मलाई त्यसमा केही नयाँपन लागेन’, कबिरले भने ।
उनले टाइगर मात्र नभई न्युयोर्क, बजरंगी भाइजानलगायतको पनि सिक्वेल ल्याउने दबाब रहेको बताए । ‘मलाई प्रेसर छ, दर्शक र प्रोड्युसरबाट तर त्यो क्यारेक्टर र कथाको अन्त्य भइसकेको छ’, कबिरले भने । उनी नयाँ कथा र नयाँ पात्रलाई फिल्ममा देखाउन चाहन्छन् । पछिल्लो समय कपिल देवको बायोपिक ‘८३’ मा कबिर व्यस्त छन् ।
प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार २०:५२