१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कर्णालीमा बाढीको वितण्डाः ७ जनाको मृत्यु, एकजना बेपत्ता

३ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६ जना कालिकोटमा एक जनाको मृत्यु भएको छ ।

हुम्ला खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँ ७० वर्षीयो धनवीरे शाहीको घरभन्दा माथिबाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षीय कलबहादुर शाही (ज्वाई), उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीया अलिन्द शाही, ५ वर्षीया छोरा हुमेस शाही र ३ वर्षीया छोरा जसबहादुर शाहीको मृत्यु भएको हो ।

त्यस्तै, कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाका कारणमाथिबाट पहिरो आई घर भत्किँदा उनको १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । ११ वर्षीया यूनिषा अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ ।

फाइल फाेटाे

जुम्ला हिमा गाउँपालिका–६ बाघबजार बस्ने ३३ वर्षीया रन्ना शाही हिमा नदिले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कालिकोट रास्कोट नगरपालिका-८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुवै खुट्टामा चोट र उनको बाँचु न्यौपानेको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

१३८ पशुचौपायाको मुत्यु

कालिकोट तिलागुपा नगरपालिका– ९ तिला नदीको किनार लुब्रे भन्ने स्थानमा भेडी गोठमा रहेका ९ घर परिवारको १३० वटा भेडा बाख्रा तिला कर्णाली नदीले बगाई लगेको छ ।

त्यस्तै, कालिकोट पचाल झरना गाउँपालिका–४ जारकोट बस्ने बिर्ख सिजुवालको गाईगोठ कल्ली खोलाबाट आएको बाढीले बगाउँदा चारवटा गाई र तीनवटा बाच्छा बगाई लगेको प्रहरीले जनाएको छ ।

मुगु खत्याड गाउँपालिका–४ पैखु बस्ने लालसिंह थापाको बाख्राको खोर अविरल वर्षाको कारणमाथिबाट पहिरो आई पूर्ण रूपमा पुरिन जाँदा खोरमा रहेको एकवटाको मृत्यु भएको र पाँच बाख्रा पुरिएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १४:२४