१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

वर्षाले धनुषाको जनजीवन कष्टकर, मुख्यमन्त्री कार्यालय मै पस्यो पानी

३ कात्तिक, जनकपुरधाम । मंगलबार रातीदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ ।

हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलका रामजनम साहले बताए ।

यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडीको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहुँदा डुबानमा परेको छ । उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ । यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रातीदेखि नै निरन्तर वर्षा भइरहे पनि जिल्लाका नदीहरूमा पानीको सतह अहिलेसम्म नियन्त्रणमै रहेको र कुनै प्रकारका मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए । तर कमला नदीको पानी बाहिरियो भने ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले उनले बताए । यस विषयमा पहिलादेखि नै सर्तक रहेको र डुबान परेकाहरूलाई उद्धार र राहतको लागि सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए ।

हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ । वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए । अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १३:४९