१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लिम्बू समुदायमा निशान नचाउँदै मौलो काट्ने परम्परा

२८ असोज , तेह्रथुम । लिम्बू समुदायमा निशान नचाउँदै हर्षाेल्लासका साथ मौलो काट्ने परम्परा अझै कायम रहँदै आएको छ । पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडादसैँको नवमीका दिन निशान निकाल्ने परम्परा छ । खासगरी पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले हरेक वर्ष बडादसैँको नवमाीको दिन निशान निकाली मौलो काट्ने गर्दै आएका छन् । यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ ।

पूर्वको धनकुटा जिल्ला अन्तर्गत तत्कालीन ताङ्खुवा गाविस हाल छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बूहरूसँग हात हतियारसहितको दुईवटा निशान, तेह्रथुम तत्कालीन पञ्चकन्या गाविस हाल छथर गाउँपालिकाको वासिकामा खजुम लिम्बूहरूसँगै दुईवटा निशान, तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बूहरूसँग दुईवटा पुराना हात हतियार तोपसहितको निशान छ भने पाँचथरका योङहाङ लिम्बूहरूसँग पनि दुईवटा निशान छन् ।

यी निशानहरू दसैँको नवमीको दिन बाहिर निकाली पूजाआज गरी प्रदर्शन गर्ने गरिन्छ । धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोतघरवाट निकाली करिब डेढ किलोमिटरको दुरीमा रहेको मौलोडाडा सम्म पु¥याएर मौलो काटी पुनः कोतघरमा पु¥याएर निशान लुकाउने गरिन्छ । त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरिन्छ ।

तेह्रथुम वासिकामा रहेको निशानलाई भने सामान्य पूजा मात्रै गरिन्छ । पाँचथरको याङरुपमा रहेको निशान भने हरेका वर्ष नवमीको दिन नचाइने गरिन्छ । यसरी लिम्बूहरूसँग पुराना हात हतियारसहितको निशान हुनु भनेको परापूर्वकालदेखि लिम्बूहरू लडाकु भएको प्रमाण रहेको डा. कमल तिगेलाको दाबी छ ।

डा. तिगेलाका अनुसार परापूर्वकाल थिवोङ याक्थुङ कालमा पनि लिम्बूहरू लडाकु थिए, राज्य भएका थिए भन्ने गतिलो प्रमाण निशान हो । नेपाल राज्य एकीकरण हुनुपुर्व सेनको शासनकालभन्दा अगाडिदेखि लिम्बूहरूसँग निशान थियो, त्यसैले लडाकु हुन् । कुनै पनि समूहसँग निशान हुनु भनेको सेना हुनुपर्छ अनि मात्रै निशान हुन्छ । बेलायतमा समेत बेलायती सेनामा टनसन छ । त्यसलाई निशान भनिन्छ ।

लिम्बू जातिसँग यी यस्ता ऐतिहासिक पुराना हात हतियारसहितको निशान हुनु भनेको यी निशानहरूले लिम्बू र लिम्बूवानको इतिहास बोकेको भूतपूर्व सिडिओ तथा लेखक भगिराज ईङ्नाम बताउँछन् । लिम्बूहरूसँग भएको निशानलाई पनि विशेष पूजा आज दसैँको नवमीमा नै गर्न गोरखाका राजा शाहले लगाएको बताइन्छ ।

लिम्बू जातिको इतिहास बोकेको निशानको बारेमा थप खोज अनुसन्धान गरे यसबाट लिम्बू जातिको धेरै कुरा पाइने डा.कमल तिगेलाको दाबी छ । पहिले निशान गोरखा राजासँग १२ रुपैयाँ तिरेर पनि पाइन्थ्यो । लिम्बूवानमा रहेका यी निशानहरू धेरै वर्ष पहिलेको हो भन्ने १८३९ मा राजा राणाबहादुर शाहले खजुम लिम्बूहरूलाई दिएको लालमोहरले पुष्टि गर्दछ । २३८ वर्ष अघि जारी गरिएको लालमोहर अनुसार लिम्बूहरूसँग धेरै पहिलेदेखि निशान थियो भन्ने पुष्टि गरेको छ । लिम्बूहरू सँग निशान हुनु भनेको पहिले लिम्बूहरूको राज्य र सेना थियो भन्ने प्रस्ट हुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १३:०३