१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पहिरो गएको तीन महिनापछि सडक खुल्यो

२७ असोज ,बागलुङ । बागलुङको दक्षिण भेग जोड्न बागलुङ–कुश्मीसेरा सडक पहिरोले अवरुद्ध भएको तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको पहिरो हटाएर अस्थायी रुपमा नयाँ ठाउँबाट सडक निर्माण गरेपछि सडक सञ्चालनमा आएको हो । उक्त पहिरोले कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको थियो ।

पहिरो नियमित बगिरहने र नयाँ ठाउँबाट सडक विस्तार गर्नसमेत कठिन भएपछि बागलुङ दक्षिण क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका थिए । जिल्ला सदरमुकाममा अति आवश्यक कामले आउनु परे पर्वत हुँदै आउनुपर्ने बाध्यता थियो ।

सडक खुलेसँगै दैमा घर जानेहरुलाई सहज भएको छ । दुई साताअघि सडक खुलाउन सुरु गरिएको थियो । पटक पटक भएको वर्षाको कारण सडक खुलाउन ढिला भएको मालढुङ्गा–कुश्मीसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिए ।

सडक सुचारु गर्न बागलुङ नगरपालिकाले जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको थियो । उपभोक्ता समितिमार्फत तत्काललाई एकतर्फी रुपमा सवारी चल्ने गरी सडक खुलाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १०:२१