मनोज गजुरेलको नयाँ जीवनः डोलेश्वरमा बिबाह, मानवसेवा आश्रमका बुबाआमासँग भोजन
२५ असोज, काठमाडौँ । चर्चित हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा परिवारका सदस्यको उपस्थितिमा बिबाह सम्पन्न गरेका छन । सोमबार बिहान डोलेश्वर मन्दिरको दर्शन गर्दै गजुरेलले न्याय सेवामा कार्यरत अधिकृत मञ्जु पोखरेलसँग बिबाह गरेका हुन ।
उनले मन्दिरमा बिबाह गरेपछि भक्तपुरको कौशलटारमा रहेको मानवआश्रममा रहेका बुबाआमाहरूसँग भोजन गरेका छन । बिबाहको भड्किलो भोज नगरी गजुरेलले आश्रममा रहेका बुबाआमालाई खाना खुवाउँदै आफूले पनि त्यही खाना खाएका हुन ।
गजुरेलले परिवार बलियो बनाउन बिबाह गरेको जानकारी बाँड्दै भनेका छन, ‘ यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । अगाडि आईपर्ने सुस्खरदुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।’
प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १२:५८