१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नवरात्रको आज पाँचौँ दिनः स्कन्दमाताको उपासना गरिँदै

२५ असोज, काठमाडौँ । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजाआराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठहरूमा आजा दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात् कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।

तर आज पञ्चमी तिथि भने बिहान ६ः३० बजेसम्म मात्र रहेको छ । त्यसपछिको समय तिथि क्षयको रुपमा मानिने गजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव सागर रिजाल (सनातन)ले बताए ।

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।

यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले संसारीक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास रही आएको छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ११:१८