२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रुपन्देही घटनामा ४ जनाको मृत्यु

२४ असाेज, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १ जनाको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत हुन नसकेको शिक्षण अस्पताल जनाएकाे छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन् । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हाे । अन्य ३ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य ५ प्रहरी र ४ सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

गत चैतमा साे जग्गामा  औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २२:२१