११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

बेलायती विश्वविद्यालयका प्राध्यापक सुवेदीद्वारा पैत्रिक जग्गा सामुदायिक भवन बनाउन दान

२३ असोज, काठमाडाैँ । बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक प्रा डा सूर्यप्रसाद सुवेदीले आफ्नो जन्मस्थल लमजुङ खुदीमा सामुदायिक भवन निर्माणका लागि दश लाख मूल्य बराबरको आफ्नो पैत्रिक जग्गा भूमिदान गरेका छन्।

दुई वर्षअघि लण्डनस्थित आफ्नो घरमा आफ्ना स्वर्गीय माता-पिताको सम्मान र सम्झनामा सप्ताह महापुराण यज्ञ गर्दा अरु धेरै प्रकारका दान गरे पनि भूमिदान गर्न अनुकूल नमिलेर अहिले भूमिदान गर्न पाएकोमा सन्तोष मिलेको प्रा सुवेदीले बताए ।

उक्त सामुदायिक भवनमा वडा कार्यालय र प्रा सुवेदीका पिता स्वर्गीय होमनाथ सुवेदीको नाममा एक वाचनालय राखिने योजना छ ।

यसअघि पनि प्रा. सुवेदीले आफूले अध्ययन गरेको लमजुङ खुदीको अमर उच्च माविमा पुस्तकालय भवन निर्माणका लागि पाँच लाख रुपैयाँ चन्दा दिएका थिए।

यसका साथै उनले हालै मात्र आफूले अध्ययन गरेको नेपाल ल क्याम्पसलाई १० लाख रुपैयाँ नगद र अर्को करिब १० लाख रुपैयाँ बराबरका आफ्नो निजी पुस्तकालयका बहुमूल्य ग्रन्थहरु प्रदान गरेका थिए ।

लमजुङ हुँदै काठमाडौँको ल क्याम्पसबाट स्नातक तथा बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै स्नाकोत्तर गरि अक्सफोर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्ने पहिलो नेपाली सुवेदीले अक्सफोर्डबाट महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पनि हासिल गरेका छन् भने बेलायतकी महारानीबाट दुई उच्च उपाधिले पनि विभूषित भएका छन् ।

प्रकाशित मिति : October 9, 2021 at 9:28 pm