१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

खसी, बोका, भेडा र च्याङ्ग्राको परीक्षण दुई सिफ्टमा, कसरी चिन्ने खानयोग्य ?

२१ असोज, काठमाडौँ । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशुसेवा विभाग र बाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।

परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षण थालनी गरेका हुन् ।

कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन् । वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भनिन्, ‘संघको सहयोगमा हामीले यहाँका धेरैजसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ । दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’

‘हामी पशुजन्य उत्पादन स्वस्थ्य र यसको बजार सहज होस् भन्ने चाहन्छौँ । यसका लागि कामहरू नियमित छन् । पशुसेवा विभागकी महानिर्देशक डा. श्रेष्ठ भनिन्, ‘दसैंमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका हौँ ।’

महानगरको पशुसेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिंङमा रातो रंग लगाइन्छ ।

महानगरभित्रका दसैँ लक्षित चौपाया बजारहरू कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुईवटा टोली नियमित परिचालन हुनेछन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदै छ ।

प्रकाशित मिति : October 7, 2021 at 5:51 pm