२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बैतडीमा खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिए

२१ असोज, बैतडी । बजार अनुगमनका क्रममा गत आर्थिक वर्षमा बैतडीका खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिएका छन् । जिल्लाका विभिन्न स्थानका फर्महरु अनुगमन गर्दा संकलन गरिएका नमूनाहरु प्रतिकुल भेटिएका छन् । प्रतिकुल नमूना भन्नाले उपभोग गर्न नमिल्ने खाद्य सामग्रीलाई बुझाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए ।

बजार अनुगमनका क्रममा संकलन गरिएका नमूनामध्ये १२ वटा प्रतिकुल भेटिएका लेखकले बताए । संकलन गरिएका नमूनाहरुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिकुल नमूना भेटिएका फर्मका सञ्चालकलाई कारवाहीको दायरामा ल्याइसकेको कार्यालय प्रमुख लेखकले बताए । ५ जनालाई जिल्ला प्रशासन कार्यालयमार्फत ५ देखि १० हजार जरिवाना गरिएको छ भने ४ जनाको मुद्दालाई रायका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको छ ।

यस्तै तीन जनामाथि अनुसन्धान जारी रहेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु विक्री वितरण गर्नेलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारवाही गर्ने गरिएको छ । उपभोक्ताहरुले पनि खाद्य सामग्री खरीद गर्ने बेलामा उत्पादन मिति हेरेर मात्रै खरीद गर्नुपर्नेमा लेखकले जोड दिए ।

संयुक्त बजार अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्न नसक्ने भएकाले स्थानीय तहहरुले बजार अनुगमनमा सक्रियता बढाउनुपर्ने उनले माग गरे । राजमार्ग छेउका बजारमै म्याद नाघेका सामग्री पाइएकाले ग्रामीण क्षेत्रमा झन् समस्या हुन सक्ने खाद्य कार्यालयको आंकलन छ ।

उपभोक्ताहरु खाद्य सामग्रीको उपभोग्य अवधिका बारेमा सचेत नहुँदा उपभोक्ता नै मारमा परेका छन् । यसले उनीहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पार्ने जानकारले बताएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १३:०७