२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नुवाकोटको केउरनी लायन्स उद्यमी नमुना गाउँमा विकास हुँदै, स्थानीयलाई सुविधै सुविधा

-प्रशान्तजंग पाण्डे 

१९ असोज, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ को केउरनीलाई लायन्स उद्यमी नमुना गाउँको रुपमा विकास गरिने भएको छ । यहि आश्वीन १८ गते लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ को आयोजनामा लायन्स उद्यमी नमुना गाउँको घोषणा गरिएको छ ।

कार्यक्रममा नमुना गाउँ बनाउनका लागि स्थानीयलाई ट्याक्टर, धान, मकै कुट्ने मिल, कपडा सिउने मेसिन, दुनाटपरी गास्ने मेसिन, पानी छान्ने फिल्टर, किटनासक ओखती छर्ने पम्प, त्रिपाल, वोएर जातको बोका र उन्नत जातको राँगा गरि करिब १५ लाख रूपैयाँको सामग्री हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनलका क्लस्टर चिफ अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

यी सामग्रीको माध्यमबाट केउरीका स्थानीयले आफ्नो गाउँलाई नमुना बनाउन प्रयत्न गर्नेछन । नेपाली पैसा सदस्यताको नाममा विदेश पठाउने काममात्र गरेको भनेर आलोचना हुनेगरेको लायन्स क्लबले नै रचनात्मक काम गरेपछि स्थानीयहरू दंग परेका छन । बहुउपयोगी सामाग्रीहरू सामूहिक उपयोग हुनेगरी बितरण गरिएका कारण समूदायमा भाइचाराको सम्बन्ध थप मजबुद हुने अपेक्षा समेत गरिएको क्लस्टर चिफ श्रेष्ठले बताए ।

लायन्स उद्यमी नमूना गाउँ अन्तरगत केउरेनी क्षेत्रका नब्बे परिवारलाई समेटिएको छ। दिगो विकासको अवधारणा अनुसार देश भरिबाट नुवाकोटको केउरेनी लगायत चौध वटा गाउँलाई लायन्स क्लबले मोडल भिलेजको रुपमा विकास गर्न लागेको जनाएको छ ।

सो कार्यक्रममा उद्घाटन गर्दै नेकपा एमालेका नेता एवं सांसद नारायण खतिवडाले कृषि सामाग्रीको सामूहिक रुपमा उपयोग गरेर आर्थिक रुपमा सम्पन्न हुनेतर्फ लाग्न केउरेनी बासिलाई अनुरोध गरे । उनले सित्तैमा पाएको सामान हो भनेर दुरुपयोग गरे पापलाग्ने भन्दै सचेत समेत गराए । खतिवडाले नमुना गाउँका लागि विदुर नगरपालिकाको वडा नम्बर ८ छनौट गरेकोमा क्लबका प्रतिनिधिलाई धन्यवाद समेत दिए ।

सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर समेत रहेका एमाले नेता सञ्जु पण्डितले लायन्सको सहयोगले स्थानीयका लागि ठूलो सहयोग पुगेको बताए । उनले केउरेनी गाउँमा यसै बर्ष पहिरो नियन्त्रणको लागि र सडक स्तर उन्नतिको लागि महत्वपूर्ण बजेट व्यवस्थापन गरेको र अब सिचाइको व्यवस्था समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लायन्स क्लबका गभर्नर विशेश्वर आचार्यले केउरेनी गाउँका जनताको लागि अब भाग्य खुलेको बताए । उनले राम्रो अवसर प्राप्त भएको र त्यसको स्थानीयले सदुपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । उनले लायन्स क्लब समाजसेवाका लागि उत्कृष्ट नमुना भएको भन्दै क्लबहरूको माग अनुसार परियोजनाहरू सिर्जना गरेर राम्रा कामहरू गर्न सकिने बताए ।

लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन विशेश्वर आचार्यको अध्यक्षतामा सम्पन्न भएको समुद्घाटन समारोहमा विदुर नगरपालिकाकी उपप्रमुख गिता दाहाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का पूर्व गभर्नर ध्रुव थापा, फस्ट भिडिजी महेन्द्र पौडेल, सेकेन्ड भिडिजी मनिश्री रत्न बज्राचार्य, वेलफेयर बैकका उपप्रमुख सुधा थापा, जोन चियर पर्सन रामराजा थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिए ।

क्लस्टर चिफ श्रेष्ठका अनुसार कार्यक्रममा सिनियर लायन लिडरहरु राम बसेल, हरि मरहठ्ठा, शिवराम फुयाल, पार्वती खरेल, आर बि अधिकारी, रमेश श्रेष्ठ, श्रीकृष्ण मानन्धर, सुनिता मरहट्ठा, सन्तोष सराफ, राजन काप्री, सुस्मा रेग्मी, लक्ष्मी थापा, दुर्गा हलुवाई श्रेष्ठ, ट्रिजा ढकाल, निशा श्रेष्ठ, भिम फुयाल, कमला श्रेष्ठ, बैकुण्ठ रिमाल, लियो किरण थापा, दिवित्सा प्रधान, पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य देवचन्द्र भट्ट लगायत विभित्र लायन्स तथा लियो क्लबका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।

लायन्स उद्यमी नमूना गाउँ, नुवाकोटका प्रमुख श्रीकृष्ण रिजालले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा नमूना गाउँ नुवाकोटका उपप्रमुख सन्तोष उप्रेतीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०८:५५