५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लगानीमैत्री र व्यावसायिक वातावरण भएको उत्कृष्ट नगरको अवार्ड बुटवल उपमहानगरलाई

१८ असोज, बुटवल । लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रूपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवल उत्कृष्ट भएको हो ।

जर्मन सहयोग नियोग (जीआईजेड)ले विषयगत विज्ञहरूमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रूपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताइन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यमशीलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआईजेडले जनाएको छ ।

सोही मूल्यांकनका आधारमा बुटवल मुलुककै पहिलो लगानीमैत्री र व्यावसायिक वातावरणमा भएकाे नगर भएको हो । जीआईजेडले बुटवललाई लगानीमैत्री र व्यावसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रूपमा अवार्ड प्रदान गरेको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआईजेडको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको थियो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणकाबारेमा विज्ञहरूले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यावसायिक वातावरण सर्वेक्षण (बिजनेश क्लाइमेट सर्वे) २०२०/२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:३१