रेडियो सगरमाथामा पत्रकार सम्झना महर्जनको एक तह घटुवा प्रकरण के हो ?
-प्रतिमा ढुंगाना
१८ असोज, काठमाडौँ । नेपालमा पत्रकारिता क्षेत्रमा विकृति व्यापक छ । यद्यपी त्यो सुधार्दै लैजानुको विकल्प छैन । मिडिया मालिकहरूबाट श्रमशोषण हुने कुरा त नौलो होइन तर पछिल्लो समय पत्रकारहरूले नै आफूलाई विकृत बनाउँदै लगेका अनेकौँ उदहारण छन ।
स्थानीय सरकारहरूसँग मिलेर पत्रकारहरू नै भष्टाचारमा सहभागी हुन थालेका उदाहरणहरू पनि सार्वजनिक भएका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही दिनअघिमात्र मकवानपुरका एक जना पत्रकारको विरूद्धमा समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

धेरै पत्रकारहरू व्यापरिक स्वार्थमा गाँसिन थालेका छन । ती विषयहरू बाहिर सार्वजनिक पनि भैरहेका छन । विगत पाँच वर्षअघि र अहिले पत्रकारहरूलाई समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भैरहेको छ । कारण पत्रकारिता क्षेत्रमा पत्रकार बनेर विभिन्न पेशा र व्यवसायका मानिसहरूले भित्र्याएको विकृति हो ।
आफ्नो जिम्मेवारीमा कुशलतापूर्वक काम नगर्ने र नेतृत्व वा लगानीकर्तालाई गाली गर्ने पत्रकारको समूह पनि ठूलै छ । कतिसम्म भने जागिर आफू खाने र तलबचाहिँ पत्रकार महासंघ वा अन्य कुनै तेस्रो पक्षले मागिदिनुपर्ने पत्रकारहरू मुलधारकै सञ्चार माध्यममा क्रियाशिल छन । उनीहरूलाई आफ्नै क्षमतामा विश्वास छैन ।
सोमबार बिहानदेखि सामाजिक सञ्जालमा पत्रकारकै विषयमा एउटा पत्र सार्वजनिक भएपछि हामीले पनि चासो राख्यौँ । अहिले सामाजिक सञ्जालमा सायौँले उक्त पत्र सेयर गर्दै टिप्पणी गरिरहेका छन । क्यानडामा बसिरहेका नेपाली मुलका एकजना अनुसन्धानकर्ता भानुभक्त आचार्यले फेसबुक मार्फत सार्वजनिक गरेको उक्त पत्रमा रेडियो सगरमाथामा दुई दशकदेखि कार्यरत रहेकी सम्झना महर्जनको एक तह घटुवा गरेको निर्णयको रहेको थियो ।
पत्रकारहरूकै समूह नेपाल वातावरण पत्रकार समूहले सञ्चालन गर्दै आएको दक्षिण एसियाकै पहिलो सामूदायिक रेडियो रेडियो सगरमाथामा पत्रकारको घटुवा भएको पत्रको व्यहोरा बाहिर सार्वजनिक भएपछि सबैले चासो दिनु र प्रतिक्रिया जनाउनु स्वाभाविक पनि हो ।
हामीले स्टेशन म्यानेजर सुवोध गौतमसँग चासो राख्यौँ । गौतमकै हस्ताक्षर गरेको पत्रबाट सोही स्टेशनमा कार्यरत कार्यक्रम निर्माता सम्झना महर्जनको एक तह घटुवा भएको देखिन्छ । यद्यपी गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्टेशन म्यानेजरले गरेको कारबाही फिर्ता लिँदै महर्जनलाई अन्तिम एक पटकका लागि मौका दिने निर्णय गरिसकेको गौतमले बताए ।
महर्जनको एक तह घटुवा हुने निर्णय रेडियो सगरमाथाले नै बदर गरिसकेको छ । सम्झनाले विना जानकारी रेकर्डेड समाचार प्रशारण लगायतको काम गरेपछि तीन पटक स्पष्टिकरण सोधिएको र त्यसको चित्त बुझ्दो जवाफ नदिएको सगरमाथा स्रोतले जनाएको छ ।
कुनै सञ्चारमाध्यमले जिम्मेवारीको अवस्था हेरेर पत्रकार र कर्मचारीलाई पुरस्कृत वा कारबाही जे पनि गर्न सक्छ । उसले संस्थाको नियम अनुसार आफ्नो गतिबिधि अघि बढाउँछ । सगरमाथाले त्यसै गरेको र पछि गल्ती महशुष गरेर उक्त निर्णय फिर्ता लिएको देखिन्छ ।
तर नेपाल पत्रकार महासंघको महासचिवका प्रतिस्पर्धी समेत रहेका गाैतमले एक तह घटुवा नै गर्ने निर्णय लिनु रेडियो सगरमाथाको नीति अनुसारको हो जस्तो लाग्दैन । कारबाहीका अनेक रूप हुन्छन स्पष्टिकरण चित्त नबुझेमा गर्ने कारबाहीमा प्रकारहरू रहेका छन । त्यसका लागि संयमता देखाएको देखिएन । यद्यपी सगरमाथाले गल्ती महशुष गरेर कारबाही फिर्ता लिनु सकारात्मक रहेको छ ।

सञ्चार माध्यममा संवेदनशीलताहरू हुन्छन । त्यहाँ कार्यरत पत्रकारहरू कारबाहीमा परिरहेका पनि हुन्छन । केही महिना पहिले एउटा दैनिक पत्रिकाका प्रमुख संवादाताको घटुवा भएको थियो । यद्यपी उनले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन ।
टेलिभिजनहरूमा पनि यस्तो समस्या छ । माउन्टेन टेलिभिजने कुनै समय विवादित व्यक्तिको अन्तर्वार्ता विना जानकारी गरेर प्रशारण गरेको भन्दै प्रस्तोतालाई विना जानकारी सेवाबाटै हटाएको थियो ।
कान्तिपुर टेलिभिजनले वर्तमान समाचार प्रमुख दिलभुषण पाठक विदेशमा रहेको बेलामै अर्को समाचार प्रमुख नियुक्त गरेर उनलाई हटाएको थियो । यद्यपी अहिले फेरि उनी कान्तिपुरको समाचार प्रमुखमा रहेका छन । सरकारी सञ्चार माध्यममा ट्रेड युनियनको डर देखाएर समाचारमा वा जिम्मेवारीमा जति नै हेलचक्राइ गरे पनि यस्ता कारबाही हुँदैनन् ।
दलाइ लामाको विषयमा नियोजित रूपमा राष्ट्रिय समाचार समीतिमा देशको परराष्ट्र नीतिविरूद्धको समाचार प्रकाशित हुँदासमेत कुनै कारबाही भएन बरू त्यस किसिमको नियोजित काममा लाग्ने सोमनाथ लामिछाने पुरस्कृत भएर केही समय अघिमात्र डिजिएममा बढुवा भएका छन । गोरखापत्र दैनिकमा नयाँ पत्रिकाको विज्ञापन पृष्ठ नै छापेर बाँडियो तर न छानविन भो न कुनै कारबाही !
प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १३:४४












