२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कर्मचारी युनियन अध्यक्षमा भगवती खतिवडा चयन

१७ असोज, उदयपुर । नेपाल निजामती कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवती खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । अधिवेशनले खतिवडा नेतृत्वमा दुई उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा चारजना केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।

उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी चयन छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् ।
त्यसैगरी सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले जानकारी दिए ।

अधिवेशनले निवर्तमान अध्यक्ष पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुयाँल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । अध्यक्षका अर्का आकांक्षी भुपध्वज रायमाझीले भने चुनावी प्रक्रिया अपनाउन नदिएर निर्वाचन समितिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान गरेको आरोप लगाए ।

निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले चुनावी प्रक्रिया अपनाउन नदिएर सर्वसम्मत समिति चयनको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाएको रायमाझीको आरोप छ । निवर्तमान उपाध्यक्ष रहेका रायमाझीले आफू पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको, तर अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफूलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै बञ्चित गरेको गुनासो गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ११:५६