२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन, उपभोक्तालाई सचेत बन्न आग्रह

१५ असोज, बैतडी । बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा अन्य सरोकारवाला निकायको सहभागीतामा अनुगमन सुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

अनुगमनको पहिलो दिन शुक्रबार खोड्पे बजारका ३३ पसलबाट २५ हजार चार सय बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको उनले बताए ।

जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले किराना पसल, मदिरा पसल र होटलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ६ हजार ६ सय बराबरको पेन्टस, १४ हजार पाँच सय ३० बराबरको पेय पदार्थ, तीन हजार बराबरको चकलेट, सात सय ७५ बराबरको बिस्कुट र चार सय ३५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेका हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरेको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

उपभोक्ता आफै सचेत नभएका कारण बजारमा म्याद नाघेका सामग्री बिक्री हुने गरेका सूचना अधिकारी भारतीले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १६:५६