२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

गृहमन्त्री खाणको नगरमा २५ दिनदेखि न्यायको खोजीमा आन्दोलन

१४ असोज, बुटवल । गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन । तिलोत्तमा- ५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

सीताका माइती पक्षले हत्याको आरोप लगाउँदै आन्दोलन अझै जारी राखेका हुन् । तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीताको शंकास्पद मृत्यु भएको थियो । दिनहुँजसो आन्दोलन भए पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनीहरूको आरोप छ ।

सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन । परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरूको दाबी छ ।

मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । गृहमन्त्रीको नगरमा महिना बित्न लाग्दा पनि न्याय नपाएको उल्लेख गर्दै उनले अब न्यायको आशा हराउन थालेको बताए ।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए ।

केन्दरीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत अनुसन्धानका लागि रूपन्देहीमा बसेर फर्केको छ । तर, अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन । प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

यता, आन्दोलनकारीले तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडामा तालाबन्दी गरेका छन् । उनीहरूले बिहीबार पनि नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १७:५४