२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सन्दुकको अर्धशतकमा ललितपुरले दियो भैरहवालाई विशाल लक्ष्य


१४ असोज, काठमाडौँ । सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुर टियु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औं खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

ललितपुरको उच्च स्कोर बनाउने क्रममा श्रीलंकाका ओपनिङ ब्याटरसमेत रहेका सन्दुक विराक्कोडीले सर्वाधिक ५८ रन बनाए । ४१ बल खेलेका सन्दुकले २ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै अज्मतुल्लाह अमारजाईले ४२ रन बनाए । २२ बल खेल्दै बिष्फोटक ब्याटिङ गरेका अज्मतुल्लाहले २ चौका र ४ छक्का प्रहार गरेका थिए ।

ललितपुरका सन्दीप जोराले ३८ रन बनाए । रन आउट हुनुअघि सन्दीपले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै ओशाडा फर्नान्डोले २० रन बनाए । ललितपुरका कप्तान कुशल भुर्तेल २ रनमा आउट भएका थिए ।

यता, टस जितेर बलिङ रोजेको शरद भेष्वाकरको भैरहवाको लागि अभिनाश बोहराले सर्वाधिक २ विकेट लिए । यस्तै धम्मिका प्रसाद, कृष्ण कार्की र आशिफ शेषले एक एक विकेट लिए ।

यसअघि एक जित र एक अंक बाँडेको भैरहवा ललितपुरलाई पराजित गर्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा रहेको छ । भैरहवाको २ खेलबाट ३ अंक रहेको छ । यता, लगातार दुई खेलमा पराजित ललितपुर पहिलो जितको खोजीमा रहेको छ । आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौ किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा स्थान बनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १६:४४