गायिका ब्रिट्नी स्पेयर्सले पाइन् बाबुको संरक्षकत्वबाट मुक्ति
१४ असोज, काठमाडौँ । अमेरिकी चर्चित पप गायिका ब्रिटनी स्पेयर्स आफ्ना बाबु जेमी स्पियर्ससँगको संरक्षकत्व मुद्दाका कारण लामो समयदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । अब भने उनले बाबुको संरक्षकत्वबाट मुक्ति पाएकी छिन् ।
अमेरिकी उच्च अदालतका न्यायाधीश ब्रेन्डा पेनीले ब्रिटनीमाथि बाबु जिमीको संरक्षकत्व बुधबार समाप्त गरिएको घोषणा गरेका हुन् । ब्रिट्नी लामो समयदेखि बाबु जिमीको संरक्षकत्वमा थिइन् । जसकारण ब्रिटनीको सम्पत्ति तथा निजी जीवनमा समेत बाबुले नियन्त्रण गर्दै आइरहेका थिए । ब्रिटनीले आफू र आफ्नो सम्पत्तिप्रति बाबुको हस्तक्षेपको अन्त्यका लागि धेरै अघि मुद्दा दायर गरेकी थिइन् ।
ब्रिटनीले नशालु औषधि सेवन गर्ने, मारपिट गर्ने तथा नशाको सुरमा अराजक गतिविधि गर्ने क्रम बढ्दै गएपछि अदालतले सन् २००८ मा बाबु जिमीलाई उनको संरक्षकको रूपमा नियन्त्रणात्मक अधिकार प्रदान गरेको थियो । जसकारण बाबुले ब्रिट्नीको सम्पत्ति तथा निजी जीवन नियन्त्रण तथा सम्हाल्दै आएका थिए । यही कुरामा बाबुछोरीबीच विवाद सुरु भएको थियो ।
ब्रिटनीले आफू कसैको नियन्त्रणमा बस्न नचाहेको भन्दै बाबुको संरक्षकत्व हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन् । केही दिनअघि बाबु जिमीले आफ्नी छोरीमाथिको १३ वर्षदेखिको आफ्नो संरक्षकत्व पूर्णरूपले समाप्त गर्नुपर्ने भन्दै अदालतमा निवेदन दायर गरेका थिए । त्यसअघि यो मुद्दामा २९ सेप्टेम्बरमा अदालतले सुनुवाइ गर्दै थियो, जसमा बाबुले छोरी ब्रिटनीको सम्पत्तिको संरक्षकको पद छोड्नुपर्ने थियो ।
तर त्यो सुनुवाइभन्दा अघि नै बाबुले निवेदन दायर गरेका थिए । खासमा जिमी यो प्रक्रियालाई छोट्याउन र छोरीमाथिको संरक्षकत्वको अधिकार पूर्णरूपमा अन्त्य गर्न चाहन्थे । १३ वर्ष लामो संरक्षकत्व समाप्त भएपछि ब्रिट्नी अब आफ्नो सम्पत्ति, आफ्नो काम, स्वास्थलगायतका सबै विषयमा आफैंले निर्णय गर्न पाउँछिन् ।
न्यायाधीश ब्रेन्डा बाबु जेमीलाई अहिले संरक्षकको रूपमा निलम्बित गरिएको बताउँदै भन्छन्, ‘जिमीलाई ब्रिटनीको संरक्षकको रूपमा तत्काल निलम्बन गरेर एउटा अस्थायी संरक्षकका रूपमा राखिएको छ । मलाई आशा छ, यो वर्षको अन्त्यसम्ममा ब्रिटनी पूर्णरूपले स्वतन्त्र हुने छिन् ।’
पछिल्लो समय ब्रिटनी नशालु पदार्थ सेवन र अराजक गतिविधि गर्न निकै कम सक्रिय रहेकाले उनलाई पूर्ण रूपले स्वतन्त्र गर्न खोजिएको बताइन्छ । यो मुद्दामा १२ नोभेम्बरमा अदालतले फैसला गर्ने सम्भावना रहेको न्यायाधीश ब्रेन्डाले बताएका छन् ।
केही दिनअघि ब्वाइफ्रेन्ड सेम असगरीसँग इंगेज्मेन्ट गरेकी ३९ वर्षीया ब्रिट्नीले उनीसँग छिट्टै बिहे गर्ने तयारी गरेको समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनीहरूको भेट सन् २०१६ मा एउटा म्युजिक भिडियोको सुटिङ सेटमा भएको थियो । सेम जम्मा २७ वर्षका भए । ब्रिट्नी र सेमबीच १२ वर्षको उमेर अन्तर छ ।
ब्रिट्नीले यसअघि दुईपटक बिहे गरिसकेकी छिन् । उनले सन् २००४ मा आफ्नो बाल्यकालदेखिको साथी जेसन अलेक्जेन्डरसँग बिहे गरेकी थिइन् । जेसनसँगको बिहे गरेको ५५ घन्टाभित्रै उनले सम्बन्ध तोडेकी थिइन् । त्यसपछि उनले र्यापर केविन फेडरलिनसँग दोस्रो बिहे गरेकी थिइन् । केविनबाट उनका दुई सन्तान छन् । केविनले सन् २००७ मा ब्रिट्नीसँग डिभोर्स गरेका थिए ।
प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १५:२९