२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

विगतमा छुटेकालाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्योः प्रचण्ड

१४ असोज, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय शहीद घोषणा गर्ने र दस्तावेजीकरण गर्ने विषय समेटिएको जानकारी गराए ।

‘विगतमा छुटेका कैयौ पक्षलाई समेटेर जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया पनि अघि बढेको छ । छिट्टै सफलता प्राप्त गर्नेछौं,’ उनले भने ।

अहिले आफूहरू गठबन्धन सरकारमा रहेको र माओवादीले अर्थ र ऊर्जा मन्त्रालय चलाइरहेको भन्दै प्रचण्डले अन्य बाँकी मन्त्रालय आजभोलि नै टुंगो लाग्ने बताए । उनले भने, ‘गठबन्धनको साझा न्यूनतम कार्यक्रममा पहिलोपटक शहीद, बेपत्ता योद्धा, घाइते अपांगताको बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण र अन्य उपचारका सन्दर्भमा औपचारिक दस्तावेजीकरण भएको छ ।’

सरकारको न्यूनतम साझा कार्यक्रममा जनयुद्धका शहीदहरूको बारेमा सत्यनिरुपण र बेपत्ता आयोगका कामहरूलाई छिटो टुंग्याउने बारेमा औपचारिक र वैधानिक ढंगले निर्णय गरिएको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १४:०५