१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

मृतकको आफन्तलाई १० हजार दान गर्न ५० भन्दा बढी मानिस जम्मा गरेर भाषण !

-प्रशान्तजंग पाण्डे

१४ असोज, नुवाकोट । नुवाकोट जिल्ला अनेक चमात्कारका कारण चर्चामा रहने गरेको छ । राजनीतिक गतिबिधि र नेताको भाषणले त नुवाकोट झन चर्चाको केन्द्रमा रहने नै भयो । नेतै नेताको जिल्ला भनेर चिनिएको नुवाकोटमा असोज ८ गते एउटा अचम्मको परिदृश्य देखियो ।

नेकपा एकीकृत समाजवादी नुवाकोटका नेता कृष्ण लामिछानेले भरतप्रसाद लामिछाने प्रतिष्ठानको नाममा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ को रालुवाका एक जना मृतकको आफन्तलाई १० हजार रूपैयाँ दिन गाउँभरीका नागरिकलाई चौतारामा जम्मा गरेर भाषण गरे ।

चौतारामा गाउँभरिका नागरिक जम्मा गरेर भाषण गरेको र १० हजार रूपैयाँ हस्तान्तरण गरेको तस्बीर लामिछाने आफैँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरेका छन । मृतकको आफन्तलाई सहयोग गर्नु त धेरै राम्रो हो । तर सहयोग गर्ने नाममा पुरै गाउँभरिका नागरिक चौतारामा जम्मा गरेर बेतुकको भाषण गर्नुले समाजसेवाका नाममा बढ्दो विकृतिलाई प्रतिबिम्बित गरेको छ ।

मृतकको आफन्तले १० हजार रूपैयाँ सहयोग लिन बेतुकका राजनीतिक भाषण सुनिदिनुमात्र परेन त्यसकै लागि गाउँभरका नागरिकलाई समेत गुहार मागेर चौतारामा जम्मा गर्नुपर्यो । यो विकृतिको चरम नमुना हो ।

विश्वभरीले चलेको चलन भनेको हुनेले नहुनेलाई दान नै हो । धेरैले त्यसैगरी सहयोग गरिरहेका हुन्छन तर राजनीतिक स्वार्थसँग जोडेर कसैको शोकसँग सौदावाजी गर्नु त्यति राम्रो देखिएन । हुन त नुवाकोटका राजनीतिक दलहरूले यस्तै गतिबिधिमा प्रतिस्पर्धा गरिरहेका हुन्छन ।

तादी गाउँपालिकामा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा चुनाव समेत लडेका लामिछानेले क्यान्सरका कारण ज्यान गुमाएकी तादी २ रालुकाकी स्वर्गीय ठूलीमाया तामाङको पति लालबहादुर तामाङलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरे । त्यसले उनकाे परिवार भने खुशी भएको छ ।

नुवाकोटमा केही महिनाअघिमात्र समाजसेवाको नाममा अमेरिका नेपाल मेडिकल फाण्डेसनको सामाग्री नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो मातापिताको फाउण्डेसनको सहयोग भन्दै बाँडेका थिएँ । दैनिकी डट कममा समाचार प्रकाशित भएपछि केसीसहितले पत्रकार सम्मेलन गरी उक्त दाबी संशोधन गरेका थिए ।

त्यसअघि नेपाली कांग्रेसकै नेता रामेश महतमाथि नेपाली कांग्रेसकै नेताले भूकम्प पीडितको अनुदानको जस्तापाता बेच्न लान खोजेको भन्दै सामाग्री समेत नियन्त्रणमा लिएर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ११:३५