२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

देउवाले मन्त्रिपरिषद् विस्तार रोकेर बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली नजाने

१४ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठक नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

संसदको अवरोध हटाउनेबारे छलफल गर्न भन्दै देउवाले मन्त्रिपरिषद्को विस्तार नै रोकेर सर्वदलीय बैठक बोलाएका छन ।  देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले न्यज कारखानासँग भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरूले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखले बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०८:३३