२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

मन्त्रिपरिषद् विस्तारको चर्चाकै बीच प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

१३ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि (बिहीबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

परियारका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेकै समयमा देउवाले सर्वदलीय बैठक बोलाउनुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

फाइल फोटो ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार २०:२७