२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

इपिएल क्रिकेट: माैसमका कारण पोखरा र ललितपुरबीचको खेल ढिला हुने


१३ असोज, काठमाडाैँ । वर्षाका कारण मैदान ओसिलो हुँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) तय खेल ढिलाइ हुने भएको छ ।

तीन दिनदेखि लगातार वर्षा र त्यसका कारण मैदानको आउट फिल्ड पूर्ण रूपमा भिजेकाले बुधबारलाई तय भएको पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेल सुरु हुन सकेको छैन ।

प्रतियोगिताको सातौ खेलको टस बिहानी ९ः३० मा हुनुपर्ने भए पनि मैदान ओसिलो भएकै कारण ११ बजेसमेत टस हुन सकेको छैन । अब, यदि मैदान केही समयसम्म खेल्न लायकको भए ओभर घटाई खेल हुनेछ ।

यसअघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाका कारण अवरुद्ध भएको थियो । दोस्रो दिन पोखरा र भैरहवाबीचको खेल ११ ओभर जारी रहँदा रद्द भएको थियो । यस खेलमा भने दुवै टोलीले अंक बाँडेका छन् ।

यसअघि काठमाठौं र विराटनगर तथा भैरहवा र चितवनबीचको तेस्रो दिनको दुवै खेलसमेत वर्षाको कारण रद्द हुँदा अर्काे मिति तोकिएको थियो ।

मंगलबार पोखरा र काठमाडौं किङ्स इलेभनबीचको खेल वर्षाकै कारण रद्द भएको थियो । आजै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:४६