२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

हाम्रो अवस्था मालेको भन्दा राम्रो छः सचिव राई

१२ असोज, झापा । नेकपा (एकीकृत समाजवादीका) सचिव राजेन्द्र राईले प्रदेश १ मा आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनबीचमा प्रदेश प्रमुख र प्रदेश सरकारको नेतृत्व लिनेमा भागबन्डा भएको भन्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

झापाको दमकमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले प्रदेश १ सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी नगर्ने बताएका छन् । ‘केन्द्रमा जसपालाई एउटा प्रदेश र अन्य तीन पार्टीलाई दुई/दुई प्रदेश सरकारको नेतृत्वमा दिने गरी सहमति भएको छ । प्रदेश प्रमुख पनि यहीअनुसार गर्ने गठबन्धनमा सहमित भएको छ’, नेकपा (एस)का प्रदेश १ संसदीय दलका नेतासमेत रहेका राईले भने, ‘प्रदेश १ र बाग्मती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ । बाग्मतीमा केही समस्या छ तर प्रदेश १ मा कांग्रेसले पनि दाबी गर्दैन ।’

यदि नेकपा (एस)को नेतृत्वमा सरकार बने उनी मुख्यमन्त्री बन्नेछन् । उनले आफ्नो नेतृत्वमा सरकार बने पार्टी कार्यकर्तासँग सल्लाह गरेर काम गर्ने आश्वासन दिए । ‘विगतमा पार्टीमा सल्लाह भएन । हामीचाहिँ पार्टीमा सल्लाह गरेर काम गर्छौं’, उनले भने, ‘पार्टी भनेको तपाईंहरू हो । तपाईंहरूको भावनालाई पनि समेटेर काम गर्छौं ।’

उनले केपी शर्मा ओलीका नेकपा एमाले कारण फुटाउन बाध्य भएको बताए । विगतमा नेकपा हुँदा नै ओलीले आफूखुसी सरकार र पार्टी चलाएको उनको आरोप थियो । ‘केपी ओलीले सत्ता आफूखुसी चलाए । दुई वर्षसम्म उनले आफूखुसी गरे । मन्त्री नियुक्ति गर्दा होस् या कुनै पदमा नियुक्ति गर्दा होस्, सल्लाह नै गरेनन् ।

कम्युनिस्टहरूले आलोचना गर्नुपर्छ तर उहाँले आलोचना सहनुभएन । पार्टीभित्र समस्या आयो’, उनले भने, ‘सर्वोच्चले एमाले-माओवादी एकता बदर गरेपछि पनि नाम फेरेर एक भएर जाने ठाउँ थियो । तर, केपी ओलीसँग कुरा गर्न सक्ने अवस्था रहेन । माओवादीसँगै मिलेर काम गर्ने विकल्प पनि थियो तर एमालेमा दुःख गरेका कारण हामी एमालेमै फर्कियौँ ।’

एमालेभित्र ओलीले बारम्बार अपमान गरेको उनको दाबी छ । ‘पार्टीमा उहाँले हामीलाई अपमान गरिरहनुभयो । आफूखुसी केन्द्रीय सदस्य थप्ने, जिल्ला र प्रदेशमा नेतृत्व परिवर्तन गर्ने गर्नुभयो । दुईवटा संगठन भएपछि फुटाउनुपर्ने अवस्था आयो’, उनले भने, ‘सैद्दान्तिक दृष्टिकोणले पनि उहाँसँग कुरा मिलेन । सरकार चलाउँदा बुर्जुवाले जस्तै उहाँले पनि चलाउनुभयो । हामी पनि त्यहाँ बस्दा दाइ कांग्रेस वा भाइ कांग्रेस बन्नुपर्ने अवस्था आयो । क्रान्तिकारी झिल्कोलाई बचाउन नयाँ पार्टी बनायौँ ।’

नेकपा (एस) एमालेको विकल्पको पार्टी भएको उनले बताए । ‘एमाले फुटेर माले बन्दाको अवस्थामा हाम्रो हाल पनि मालेको जस्तो हुने त होइन ? भन्ने चर्चा हुन्छ । तर, अवस्था फरक छ । मनोमहनको नौ महिने सरकारले एमालेलाई लोकप्रियताको शिखरमा पुर्‍याएको थियो । त्यस बेला पार्टी फुटाउँदा जनताले मनपराएनन्’, उनले भने, ‘अहिले ओली नेतृत्वको सरकार धेरै अलोकप्रिय थियो । त्यसको विकल्प हामी हौँ ।’

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १९:५१