२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काठमाडौँ र विराटनगरबीचको खेल स्थगित


११ असोज, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको आजको पहिलो खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः३० बजे हुने खेल आइतबार परेको पानीले मैदान ओसिलो भएका कारण स्थगित भएको हो ।

यसअघि निर्धारित समयमा खेल सुरु नभएपछि ओभर समेत घटाएर खेलाउने जनाइएको थियो । तर, अन्तिमसम्मै मैदान खेल्नलायक नभएपछि रद्द गरिएको हो । अंक भने बाँढिएको छैन ।

तर, आयोजकका अनुसार खेल अर्कोपटक पुनः हुन सक्छ । त्यसको लागि भने आयोजक, टेक्निकल टिम र दुई क्लबबीच छलफल हुनेछ ।
काठमाडौंले पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । यता, विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो ।

अफ्रिदीले ब्याट नै छुन पाएनन्

जारी इपिएलको मुख्य आकर्षक बनेका पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको आज अन्तिम खेल थियो । पाकिस्तानका पूर्व कप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न काठमाडौं आएका थिए । शनिवारको पहिलो खेलमा उनले तीन ओभर बलिङ गरेका थिए ।

त्यस दिनको खेलमा उनले ब्याटिङ गर्न पाएका थिएनन् । आज हुने भनिएको दोस्रो खेल पनि रद्द भएसँगै उनी इपिएलमा ब्याट नै नछोइ स्वदेश फर्कने भएका छन् । उनी आजै पाकिस्तन जाँदैछन् ।

भैरहवा र चितवनबीचको १ः३० बजे

दिनको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १ः३० बजे हुँदैछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । यस्तै सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजीमा हुनेछ । यसअघि आइतबार वर्षाले प्रभावित खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १३:३९