२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत

११ असोज, सप्तरी । तराई-मधेसका महिलाले लिने कठोर ब्रत जितिया आज साेमबारबाट सुरु भएको छ। सन्तान प्राप्ति, दीर्घायु र परिवारको सुख-शान्तिका लागि भन्दै जितिया पर्वमा ३६ घन्टा निराहार ब्रत बस्ने प्रचलन छ ।

आश्विन कृष्ण पक्षको सप्तमी तिथिका दिन यो ब्रत बस्ने गरिन्छ । सप्तमी तिथिदेखि अष्टमी सुरु नभएसम्म निराहार ब्रत गर्ने गरिन्छ । राजविराज नगरपालिका-७ कि सविता कर्ण बिहानै उठिन्। घर लिपपोत पारिन् । पिना, तेल घिरौलाको पात, जियलको पात ठिक्क पारिन् । नयाँ लुगा बोकेर समूहमा पोखरी तिर लागिन् ।

उनीहरूले साबुन प्रयोग नगरी पिनाले नुहाए । नयाँ लुगा लगाए । बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गरिन् ।

ब्रतालुले दिवंगत सासु, जेठानी, नन्द आमा , फुपूसासु तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस ब्रतलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन् ।

राजविराज नगरपालिका-७ कि मूर्ति दासले भनिन्,´ब्रतालुले कठिन परिस्थितिको सामना गरेर ब्रत बस्ने गरेका छन्।` ब्रत सुरु गरिसकेपछि ताेड्न हुँदैन भन्ने मान्यता रहेकाले कतिपय बिरामी महिलालाई समस्या हुने गरेकाे राजविराज-७ कि उर्मिला देवले बताइन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ०९:११