२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

इपीएलमा इजिप्टका मोहम्मद सलाहले १०० गोलको कोसेढुंगा छोए


१० असोज, काठमाडाैँ । इंगलिस प्रिमियर लिग (इपीएल) मा इजिप्टका मोहम्मद सलाहले १०० गोलको कोसेढुंगा छोएको दिन लिभरपुल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा योर्गन क्लोपको लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । इथान पिनकको गोलमा घरेलु टोली ब्रेन्टफोर्डले २७औँ मिनेटमा अग्रता लिएको थियो । डियोगो जोटाको ३१ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

सालाहले ५४औँ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर, भिटाली जेनेटले ६३औँ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काए ।

कर्टिस जोन्सले ६७औँ मिनेटमा गोल गर्दा लिभरपुलले ३-२ को अग्रता बनायो । तर वैकल्पिक खेलाडी योहान विसाले ८२औँ मिनेटमा ब्रेन्टफोर्डका लागि बराबरी ३-३ को बराबरी गोल गरे । बराबर बाबजुद लिभरपुल ६ खेलमा १४ अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

शनिबार राति चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको म्यानचेस्टर सिटी १३ अंकका साथ दोस्रो स्थानमा छ । १३ अंक भए पनि चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टन तेस्रो, चौथो तथा पाँचौ स्थानमा छन् । युनाइटेड एस्टन भिल्लासँग १-० ले पराजित भएको थियो ।

एभर्टनले नर्विच सिटीलाई २-० गोल अन्तर हराउँदा वेस्टहमले लिड्स युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ । वाट्फोर्ड र न्युक्यासलले १-१ को बराबरी खेल्दा लेस्टर र बर्नलीले २-२ को बराबरी नतिजा निकालेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ०८:३४