ठुलिभेरीमा १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण
९ असोज, जाजरकोट । ठुलिभेरी नगरपालिका-९ डोल्पाका १ सय ७० घरधुरीलाई नि:शुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतिपुर, डाँगीबाडालगायत बस्तीका नागरिकलाई सोलार वितरण गरिएको हो ।
नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कूल सत्तरी लाख अनुदान सहयोगमा सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।
जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय पचास एम्पियरको ब्याट्री नि:शुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।
‘वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए । उक्त समस्यालाई मध्येनजर गर्दै सोलार खरिद गरिएको हो । अब नागरिक अन्धकारबाट मुक्त भएकाछन्’, भण्डारीले भने ।
प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित उनान्चालीस हजार पाँच सय मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए । आफूहरूले सोलार पाउँदा खुसी लागेको स्थानीय सुनकुमारी कठायतले बताइन् । न्युजकारखाना
प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार २२:०६