२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेविसंघ झापाका सभापति उप्रेतीसहित १७ जना जुवाखालबाट पक्राउ

७ असोज, बिर्तामोड । दमक प्रहरीले जुवा (कौडा) खालमा नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीलाई पक्राउ गरेको खुलासा भएको छ ।

इलाका प्रहरी कार्यालय दमकले मंगलवार राती ११ः३० बजे दमक १ स्थित हिमाल देवानको घरबाट १७ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । १७ जनामा धेरैले गलत नाम लेखाएका थिए । त्यसमध्ये उप्रेतिले समेत कनकाई –३ सुनिल शाह नाम लेखाएको दमक प्रहरीले जनाएको छ ।

नेविसंघ झापाका सभापति उप्रेतीलाई पक्राउ गरिएको विषय गोप्य राख्न जिल्ला प्रशासन र प्रहरीलाई समेत दवाव दिइएको छ । तर, प्रहरीले नागरिकता झिकाए पछि राजेन्द्र उप्रेति नै भएको पुष्टि भएको छ । प्रहरीले विशेष सूचनाको आधारमा १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपैयाँ समेत बरामत गरेको थियो ।

नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती ।

प्रहरीले उप्रेति सहित भद्रपुर ७ का ५१ वर्षीय युवराज न्यौपाने, वडा नं ९ बस्ने ४९ वर्षीय दिल बहादुर राई, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, भद्रपुर १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला (घाईते), गौरादह ५ का ४५ वर्षीय हरि कोईराला, कमल ४ का सुबिन्द्र सुब्बा, कन्काई ३ का मोहन बराल पक्राउ परेका छन ।

यस्तै मोरङ ग्रामथान ४ का लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का २१ को निशान पोखरेल, दमक ७ का ४९ को कर्ण राई, राजन दाहाल र विनोद थेबेलाई पक्राउ गरेको छ । म्याद थप गरेर उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १०:३९