२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

६ असोज, काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् ।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए ।

मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने उनले बताए ।

अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए । राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १०:५९