३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

पाँचाैँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडमा १७ विद्यार्थी

४ साउन,काठमाडौँ । साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिने पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को तेस्रो चरणको बन्द शिविरका लागि १७ विद्यार्थी छनोट भएका छन् ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले गत फागुन ५ गते सञ्चालन गरेको प्रवेश परीक्षामा सम्मिलित विद्यार्थीमध्ये उत्कृष्ट ३३ लाई दोस्रो चरण अर्थात् पूर्व बन्द शिविरमा सामेल गरिएको थियो ।

शिविरमा विद्यार्थीले टेलिस्कोप, आकाशीय नक्सा तथा सौर्य घडी बनाउने, प्रतिवेदन, कार्यपत्र तयार पार्ने, आफ्नो कार्यपत्र १० जोड दुईसम्म अध्ययनरत विद्यार्थीमाझ प्रस्तुत गर्ने तथा सूर्य अवलोकन गराउनेजस्ता गतिविधिमा सहभागिता जनाएका थिए ।

गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने १७ जना विद्यार्थीलाई तेस्रो चरण अर्थात् बन्द शिविरका लागि छनोट गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

बन्द शिविरमा छनोटमा परेका विद्यार्थीलाई विज्ञबाट खगोल तथा भौतिक विज्ञानसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइनेछ । शिविरको अन्तिममा गरिने छनोट परीक्षाबाट राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को उत्कृष्ट पाँच विद्यार्थी घोषणा गरिने सोसाइटीले जनाएको छ ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो । कक्षा १२ सम्म अध्ययनरत र विश्वविद्यालयमा भर्ना नभएका २० वर्षभन्दामुनिका नेपाली नागरिकले सहभागिताका लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार २०:२८