२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

मोफसलका तीन क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश


-रमेश सुवेदी

३ असोज, काठमाडौँ । अखिल नेपाल फुटबस संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग-२०७८ का लागि पहिलो संस्करणको मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको हो । प्राप्त प्रतियोगिता नियमावलीमा तीन क्लबलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ ।

एन्फाले आयोजना गर्ने ‘उपमेयर कप २०६८ राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता’ ४ कात्तिकबाट सुरु हुँदैछ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन । एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) लाई सिधै प्रवेश गराएको थियो । जहाँ उपमेयर कपबाट चार टोली राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

एन्फाले आयोजना गरेको उपमेयर कपबाट गत सिजन वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डीगढी नगरपालिका उदयपुर राष्ट्रिय लिगमा छनोट भएका हुन् । राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढीबाहेक एन्फाले अन्य तीन टोलीलाई यसपटक राष्ट्रिय लिगमा सिधै प्रवेश गराएको हो । प्रतियोगिता नियमावलीको परिच्छेद नम्बर २ को नियम (५) सहभागितामा भनिएको छ ।

‘यस प्रतियागितामा अघिल्लो वर्ष ७ माघदेखि ७ फागुनसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको राष्ट्रिय महिला लिग-२०७७ मा सहभागी भएका चार पालिका टिम (वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ र चन्द्रपुर नगरपालिका, रौतहट) २०७८ सालमा आयोजना हुने राष्ट्रिय महिला लिगमा सहभागीता जनाउने भएकाले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।’

एन्फाको याे नियमवलीसँगै आगामी राष्ट्रिय महिला लिग-२०७८ मा क्लब संख्या आठ हुने भएको छ । यसअघि सात क्लब थिए । एन्फाले उपमेयर कपमा सहभागी क्लबले अनिवार्य खेलाडीको दुर्घटना बिमा गरेको हुनुपर्ने र कोरोना खोपको पूर्ण डोज लगाएको वा ४८ घन्टा अगाडिको आरटी वा पिसीआर गरेको रिपोर्ट पेस गर्नुपर्ने बताएको छ ।

यस्तै, एन्फाले प्रतियोगिता तयारी खर्च एक क्लबलाई ५० हजार रूपैयाँ दिने बताएको छ । उपमेयर कपको विजेताले पाँच लाख, दोस्रो हुने टोलीले तीन लाख र फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ । यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १६:२६