२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

विभुषण वितरणमा प्रश्न उठाउँदै पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे पदक

३ असोज, काठमाडाैँ । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।

२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाकाे निर्णय आइतबार सार्वजनिक गरेकी थिइन् । उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ।

तर, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।

यस्तो छ थापाको धारणा 

पदकबारे मेरो मान्यता

जनप्रतिनिधिले लेखेको हाम्रो संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संविधानवाद अझ सुदृढ हुँदै जाओस्, लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस् । सबैलाई मेरो हार्दिक शुभकामना ।

आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद ।
विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।

मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १०:२९