१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

पोखरामा नयाँ एयरपोर्ट बनेपछि अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य अन्योलमा

३ असोज, पोखरा । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् ।

पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् ।

विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थालेको छ । ६० भन्दा बढी कम्पनीका तीन सयभन्दा बढी प्याराग्लाइडर छन् । हट बेलुनमा पनि उड्न पाइन्छ । पोखरा विस्तारै हवाई खेलकुदको हव बन्दै छ ।

प्याराग्लाइडिङबाट एसियन गेममा नेपालले मेडल प्राप्त गरेको थियो । त्यसैले पनि पोखरामा हवाई खेलकुदको सम्भावना उच्च छ । यद्यपि त्यसको उचित उपयोग हुन सकेको छैन ।

प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वर्षेनी हुँदै आएको थियो । अहिले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । धेरैको चासो यसपछि पोखरामा हवाई खेलकुदको भविष्यबारे छ । पर्यटन व्यवसायीहरू कुनै पनि खेल यहाँबाट विस्थापन गर्न नहुने बताउँछन् ।

यद्यपि सरकारले सूचना जारी गरेको छैन । नतासा पोखरा हवाई खेलकुदको राजधानी भएकाले अन्यत्र सिफ्ट गर्दा त्यसको सन्देश राम्रो नहुने बताउँछिन् । ‘मैले व्यवसाय गर्दा वर्षमा ३० हजार मात्रै पर्यटक आउँथे । अहिले लाखौं आउन थालेका छन् । यसमा स्पोर्टस टुरिजमले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘तर अहिले विमानस्थल निर्माणपछि हवाई खेलकुदको अवस्था थाहा छैन । कति फ्लाइट हुने हो ? कुन जहाज आउँछ ? सरकारले बेलैमा हामीलाई जानकारी गराएको छैन ।’

केही जानकारहरू भने हवाई खेलकुदलाई नेपालका अन्य एयरपोर्टमा ‘सिफ्ट’ गर्नुपर्ने बताउँछन् । नेपालमा ४८ एयरपोर्टमध्ये १८ वटा मात्रै सञ्चालनमा छन् । ३० वटा अहिले पनि पूर्ण रूपमा बन्द छन् । बन्द भएका एयरपोर्टबाट साइट सिनका लागि अल्ट्रालाइट, प्याराग्लाईडिङ जस्ता खेल चलाउन सकिने उनीहरूको भनाइ छ ।

‘विकासले पोखराका लागि राम्रै गर्छ । एयरपोर्ट बनेपछि यहाँको अर्थतन्त्रमा ठूलो टेवा पुग्छ,’ नेपाल पर्यटन बोर्डका पोखरा प्रमुख काशी भण्डारीले भने, ‘अब हवाई स्पोर्टस् उपयुक्त अन्य ठाउँमा सिफ्ट गर्नुपर्छ ।’

डेढ वर्षदेखि विश्वको पर्यटन डामाडोल छ । पर्यटकहरू घुम्न निस्किएका छैनन् । नेपालमा अड्किएका केही पर्यटकहरू लकडाउन खुलेपछि विस्तारै गन्तब्यतिर लागे । शरद याम पर्यटनको प्रमुख सिजन हो । अहिले शरद सुरु भएको छ ।

केही पर्यटकहरू आफ्नो देश फर्किएका छन् । अध्यागमन कार्यालयले अप्रिल २९ देखि सेप्टेम्बर १७ सम्म एक हजार पाँच सय ११ जनाको भिसा दिएको छ । तीमध्ये एक हजार एक सय चारजना पर्यटकको भिसा थप भएको हो । भिसा थपेर कार्यालयले एक करोड ७८ लाख ८६ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

‘पहिलो लहर सकिँदा पर्यटन चलायमान हुने आस थियो । दुर्भाग्यवश दोस्रो लहर आयो र हाम्रा आसा सबै अन्त भयो,’ भण्डारी भन्छन्, ‘पोहोर आसा मात्रै थियो, सकियो । अहिले भ्याक्सिनको भरोसा पनि छ । छिटै देशभरि भ्याक्सिन वितरण हुन्छ र कोभिड नियन्त्रणमा आउने छ ।’

पर्यटकलाई सरकारले ३० सेप्टेम्बरसम्म विना जरिवाना भिसा थपिदिने निर्णय गरेको छ । यसले उनीहलाई सहजता थपेको छ । कोभिड सेलाउने तर्खर गर्दै गर्दा पर्यटकीय गतिविधिमा भने अंकुश लाग्ने सम्भावना छ । यसले धेरै पर्यटन व्यवसायी चिन्तित छन् । विमानस्थल आयोजनासँग पर्यटन व्यवसायीले पटक पटक अन्तरक्रिया गरेका छन् । तर स्पष्ट जवाफ पाएका छैनन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १०:०७