२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गल्छी-त्रिशूली-मैलुङ सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन

२८ भदौ, रसुवा । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-मैलुङ सडकखण्डको कालोपत्रेको कामलाई तीव्रता दिन कोभि टुन्डि रसुवा जेभिलाई निर्देशन दिइएको छ ।

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाले कालोपत्रेको जिम्मा लिएको ठेकेदार कोभि टुन्डि रसुवा जेभिलाई आइतबार कार्यालयमा बोलाई कामलाई तीव्रता दिन निर्देशन दिइएको हो ।

वर्षायाम कम हुन थालेसँगै गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन दिएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । चाडपर्व नजिकिएको र यात्रुको चाप बढ्ने हुँदा कामलाई तीव्रता दिन निर्देशन दिएको उनले बताए ।

दशैंअघि बेत्रावतीसम्मको कालोपत्रेकाे काम सम्पन्न गर्न निर्देशन दिएको उनकाे भनाइ छ । हालसम्म पहिलो र दोस्रो तहको कालोपत्रे भइसकेको स्थान सफा गर्ने, गल्छीदेखि बेत्रावतीसम्मको सडकमा कालोपत्रे गर्नुपर्ने, सडकको खाल्डाखुल्टी परी सवारीसाधन सहज रूपमा निर्वाध सञ्चालनका लागि तीव्रताका साथ काम गर्न अनुरोध गरिएकोसमेत उनको भनाइ छ ।

२२ कात्तिक ०७३ मा कोभि टुन्डि रसुवा जेभिले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकको चौडा बनाउने, नाला निर्माण गर्ने, कल्भर्ट निर्माण गर्ने, वाल निर्माण गरी सडक कालोपत्रेका लागि ठेक्का पाएको थियो । ५ भदाै ०७५ सम्ममा तोकिएअनुसारको काम सम्पन्न भइसक्नुपर्ने थियो । तर, तोकिएको अवधिमा सम्पन्न हुन नसकेपछि त्यसयता हालसम्म ६ पटक भ्याद थप भइसकेको छ ।

मुआब्जा वितरणमा विवाद, अदालतको स्टे अर्डर, कोरोना र विद्युतका पोल समयमा नहट्नु, वर्षातको समयमा काम गर्न नसक्नुलगायत कारणले काममा ढिलाइ भएको बताइएको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना हो ।

गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेसीसम्म र तेस्रो खण्ड स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुबेसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १६:३७