१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

नगरकोटका उद्योग कामदारको अभावमा बन्द हुने अवस्थामा, विदेशीने युवालार्इ राेकिदिन उद्योगीको माग

१८ फागुन, काठमाडौँ । भक्तपुरका उद्योगी व्यवसायीले कामदारको समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वा्चित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको बधाई ज्ञापन कार्यक्रममा उद्योगी व्यवसायीले मजदूर समस्याले गर्दा वर्षौंदेखि गर्दै आएको उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

मजदूर समस्याले घरेलु तथा साना उद्योग झन ठूलो समस्यामा रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वा्चित रामप्रसाद प्रजापतिले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान गर्न सम्पूर्ण उद्योगी व्यवसायी एकजुट भई अघि बढ्नुपर्ने बताए ।

उनले देशका उद्योग व्यवसायमा मजदूर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहित गर्नुपर्ने माग गरे । त्यस्तै संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले मजदूर समस्याकै कारण सञ्चालनमा रहेका उद्योग न्यून हुँदै आएको बताए ।

उनले मजदूर समस्यालाई सम्बोधन गर्न युवालाई तालीम दिनुपर्ने धारणा राखे । त्यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले संघले विभिन्न तालीम दिए पनि युवा उद्योग व्यवसायमा काम गर्न उत्साहित नदेखिएको बताए । विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १०:४१