२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलमा सहभागी पुनमको मुटुमा समस्या


-रमेश सुवेदी/न्युज कारखाना

२५ भदाै, काठमाडाैँ । पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दा, मिडिया र दर्शक नै अचम्मित थिए । उपस्थित सबैले सोचे अखिल नेपाल फुटबल संघ ‍(एन्फा) ले ‘फिफा विन्डोज’को मैत्रीपूर्ण खेलमा ठूलो बदनामी कार्य गर्यो ।

अझ फिफा फोर्थ रेफ्रीले ठूलो गल्ती गरिन् । खेल अगाडि खेलाडी संख्या गणना गर्न भुलिन् । खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शक तथा शुभचिन्तकसमेत अचम्मित थिए ।

भ्रमणकारी बंगलादेश र नेपालको राष्ट्रिय गानसम्म नेपाली टोली १२ खेलाडीसहित मैदानमा थियो । जब राष्ट्रिय गान समाप्त भयो, तब सुरुवाती–११ बाहिर रेहेकी डिफेन्डर पुनम जर्घा मगर मैदानबाट बाहिर निस्किन् ।

नेपाली बेन्चमा रहेका प्रशिक्षक, प्रशिक्षक स्टाफ, अफिसियल र बाँकी खेलाडीले पुनम बाहिर निस्कँदा मज्जाले ताली पिटिरहेका थिए । पूरा टिमको यो सम्मान पुनमप्रति थियो । पुनमसमेत मुस्कुराउँदै मैदान बाहिर निस्किन् ।

सबैलाई लागेको थियो यो एन्फाको ठूलो खेलाँची हो । यसअघि नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा कडा सुरक्षा व्यवस्था गरेको एन्फाले किन यतिको लापरबाही गरेको होला ? सबैलाई लाग्न सक्छ । तर भित्री रहस्य भने निकै दुखद् रहेछ । पुनम खेल जीवनकै कठिन मोडमा रहिछन् ।

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलअघि एन्फाले फिफा नियमअनुसार सम्पूर्ण महिला खेलाडीलाई फिफा ‘प्रि–कम्पिटिसन मेडिकल एसेसमेन्ट (पीसीएमसी)’ खेलअघिको स्वास्थ परीक्षण गराएको थियो ।

पीसीएमसीको रिपोर्टअनुसार पुनमले अब केहस् समय मैदान छाड्नुपर्ने हुन्छ । त्यो कति समयको हुनेछ ? अझै निश्चित छैन । शुक्रबार दोस्रो पटक पुनमको पीसीएमसी गरिनेछ । त्यसपछि मात्रै उनको मैदान बाहिर कति समय बस्ने वा खेल नै छाड्नुपर्ने हो ? बल्ल यकिन हुनेछ ।

एन्फाले गराएको पीसीएमसी रिपोर्टअनुसार पुनमको मुटुमा समस्या छ । उनको मुटुमा प्वाल देखिएको छ, जसकारण पुनमलाई तत्काल डक्टरले नखेल्न आग्रह गरेका छन् ।

सन् २०२० को युरो कपमा पनि यस्तै देखिएको थियो । समूह बी अन्तर्गत डेनमार्क र फिनल्यान्डको खेल जारी थियो । खेलको ४३ मिनेटमा घरेलु टोलीका मिडफिल्डर क्रिष्टियन इरिक्सन मैदानमा ढले ।

हृदयाघातका कारण मैदानमा ढलेका क्रिष्टियनले प्राथमिक उपचारपछि जीवन भने जिते । तर करिब तीन महिना भइसक्दा उनी मैदान प्रवेश गर्न सकेका छैनन् ।

बारम्बारका यस्ता घटनापछि फिफाले आफ्ना सदस्य राष्ट्रलाई खेलअघि आफ्ना खेलाडीको स्वास्थ्य उपचार गराउन निर्देशन दिएको छ । फिफाको निर्देशन पालना गरेको एन्फाले सो घटना नेपालमा भने दोहोरिन दिएन । यदि पुनम स्वास्थ्य परीक्षण नगरी मैदान प्रवेश गरेको भए बिहीबार मैदानमा के हुन्थ्यो ? कसैले अनुमान गर्ने कुरा थिएन ।

पुनमलाई डाक्टरले तत्काल नखेल्न आग्रह गरेसँगै टिमले उनको मनोबल उच्च बनाउन १२ औं खेलाडीको रूपमा मैदान प्रवेश गराएको थियो । टिमका साथी र प्रशिक्षकले पुनमलाई पुनः त्यही अवस्थामा फर्कन प्रेरणा दिँदै मैदान प्रवेश गराएका थिए ।

‘पीसीएमसी रिपोर्टपछि पुनमको मुटुमा केही समस्या भएको पाइयो । डाक्टरले उसलाई तत्काल नखेल्न भनेका छन्,’ महिला विभाग प्रमुख तथा पूर्वमुख्य प्रशिक्षक हरि खड्काले न्युज कारखानासँग भने । पुनमको मनोबल बढाउन १२औं खेलाडीको रूपमा उनलाई मैदानमा पठाएको उनले बताए ।

‘रिपोर्टपछि हामीले बंगलोदशविरुद्ध उनलाई खेलाउन नसक्ने भयौं । उनको मनोबल बढाउन हामीले मैदान पठाएका हौं । बाँकी समयमा पनि पुनरागमन गरेर खेल्न सक्छ, यसरी फेरि खेल्नुपर्छ भनेर मैदान प्रवेश गराएका हौं,’ मैत्रीपूर्ण खेलमा टोली अफिसियलका रूपमा रहेका खड्काले भने ।

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने पुनमले डाक्टरलाई अभ्यास र यसअघिका खेलमा खेल्दा कुनै पनि समस्या नभएको बताएकी थिइन् । टोलीका सदस्यअनुसार डाक्टरले पुनमको बच्चैदेखि मुटुको समस्या रहेको बताएका थिए । तर, पुनमले अहिले आफ्नो मुटुमा कुनै समस्या भएको महसुस गरेकी भने छैनन् ।

आधा दशकयता राष्ट्रिय टोलीको नियमित सदस्य रहेकी पुनम सेन्टर डिफेन्डर हुन् । विराटनगरमा भएको साफ च्याम्पियनसिपमा सेट पिसमा अगाडि बढ्दै पुनमले श्रीलंकाविरुद्ध नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । पुनमको यो राष्ट्रिय टोलीबाट पहिलो गोल थियो ।

नेपालले बिहीबार बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्यो । नेपालको जितमा दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १३:०५