२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै, पहिलो मैत्रीपूर्ण खेल आज

-रमेश सुवेदी/न्युज कारखाना

२४ भदाै, काठमाडाैँ । आगामी एएफसी एसिया महिला कप २०२२ छनोट तयारी स्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेल आज (बिहीबार) रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

बंगलादेशसँग खेल्दै गर्दा नेपाली टोलीको मुख्य हतियार सावित्रा भण्डारी (साम्बा) टोलीमा उपलब्ध हुने छैनन् । घुडाको एन्टेरिएल क्रुसियल लिगामेन्ट (एसीएल) च्यातिएपछि शल्यक्रिया गरेकी साम्बा टोलीमा हुने छैनन् ।

नेपाली राष्ट्रिय महिला टोलीबाट सर्वाधिक ३८ गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाको अनुपस्थितिमा नेपालको अग्रपंक्ति कमजोर देखिने आंकलन गरिएको छ । ‘पावर गेम’ र उत्कृष्ट ‘फिनिसर’ को रुपमा स्थापित भएकी सावित्राको अभावमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राको अभाव युवा खेलाडीले हुन नदिने बताए । नेपालले ‘पावर गेम’ भन्दा पनि ‘टिम गेम’ खेल्ने उनको भनाइ थियो ।

यता, बंगलादेशी मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्राबिना आफ्नो खेलाडीले डिफेन्समा खुलेर खेल्न पाउने र खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

एएफसी महिला एसिया कप २०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ । यता, जी समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ ।

नेपालका मुख्य प्रशिक्षक फिलिप्सले बंगलादेश र एसिया कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा ७ नयाँ अनुहारलाई स्थान दिइएको छ । प्रीति राई, सविता राना मगर, विमला विक, रजनी थोकर, रश्मी घिसिङ र सृजनासिंह ठकुरीले पहिलो पटक स्थान बनाएका हुन् ।

गत वर्ष पोखरामा भएको साग गेमयता नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पोखरामा खेलेका स्ट्राइकर निरु थापा र डिफेण्डर मनमाया लिम्बुले सन्यास लिइ सकेका छन् । बाँकी समय आएका नयाँ खेलाडी र पुराना खेलाडीका कारण बंगलादेशविरुद्ध सुरुवाती ११ मा व्यापक परिवर्तन हुन सक्नेछ ।

विशेषगरी प्रशिक्षक ग्यारीलाई सेन्टर स्ट्राइकरमा सावित्राको स्थानमा कुन खेलाडीलाई ल्याउने भन्ने द्विविधा रहनेछ । अन्य पोसेसनमा केही खेलाडीले आफूलाई प्रमाणित गर्दा सेन्टर स्ट्राकरमा भने अहिलेसम्म यहिँ खेलाडी भन्ने अवस्था छैन । प्रशिक्षक ग्यारीले सावित्राको स्थानमा सरु लिम्बुलाई मौका दिने सम्भावना प्रबल छ । यदि सरुले १०औं खेलाडीमा खेलेको अवस्थामा भने अनिता केसी र डेब्यु तयारीमा रहेकी १६ बर्षकी प्रीति राईले त्यो पोसेसनमा मौका पाउने छन् ।

यता, मिडफिल्डरमा भने विमला चौधरी, दिपा राई, रेणुका नगरकोटी, मन्जली कुमारी योञ्जन र अनिता बस्नेतको सम्भावना बढी छ । डेब्यु तयारीमा रहेकी सविता राना मगरकोसमेत उत्तिकै सम्भावना छ ।

बंगलादेशविरुद्ध अट्याकिङ मिडमा दिपा र मन्जली रहँदा होल्डिङ मिडफिल्डरमा कप्तान रेणुका रहने छिन् । यस्तै राइट विंगर तथा मिडफिल्डरमा सविता र लेफ्ट विंगर तथा मिडफिल्डरमा विमला चौधरीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

डिफेन्स लाइनमा भने यसअघिका अनुभवी खेलाडी नै रहन सक्छन् । सदाबहार गीता रानासहित चोटबाट फर्किएकी हिरा भुजेल, अमृता जैशी, पुजा राना, पुनम जर्घा मगर , विमला विक लगायतका खेलाडीले खेल्न सक्छन् ।

प्रशिक्षक फिलिप्सले सेन्टर ब्याकमा गीता राना र अमृता जैशीलाई मौका दिने सम्भावना अत्याधिक छ । यस्तै राइट ब्याकमा पुजा रानाले स्थान बनाउँदा लेफ्ट ब्याकमा हिरा भुजेलको सम्भावना छ ।

यता, गोलकिपरमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् । मैत्रीपूर्ण खेल भएका कारण आर्मीकी अन्जना राना मगरकोसमेत उत्तिकै सम्भावना हुन सक्छ । बंगलादेशविरुद्ध प्रशिक्षक फिलिप्स ग्यारीले १-४-५-१ रणनीतिमा खेल खेलाउन सक्छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १४:०४