१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

न्यादी हाइड्रोपावरको आईपीओमा पर्याे ६१ करोड बराबरको आवेदन

१६ भदौ, लमजुङ । न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको ५ लाख कित्ता शेयरको लागि २ हजार नाै सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

जिल्लावासीका लागि छुट्याइएको १० लाख कित्ता शेयरको लागि २२ हजार दुई सय ३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको माग आवेदन परेको न्यादी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । उनका अनुसार १ भदौबाट बिक्री खुला भएको आईपीओ भर्ने समय मंगलबार सकिएको छ ।

जिल्लाबासीको लागि कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि ५ लाख र संस्थापक शेयरधनीका लागि ३ लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ ।

०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य सम्पन्न भएपनि ट्रान्समिसन लाइन र सबस्टेशनको काम सकिएसँगै केही महिनामा विद्युत उत्पादन गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना कुल ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार लागतमा निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ११:१०