प्रधानमन्त्रीकाे तुइन विस्थापन कोषमा गायिका अानी एक्लैको एक करोड सहयोग
३ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन ।
नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको गएराति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन । उनले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन । गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ ।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा पचास हजार सहयोग दिने घोषणा गरे । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए ।
प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०५:२१