२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महिला फुटबल टोलीले भदौ चौथो साता बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

-रमेश सुवेदी

९ भदौ, काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलाउने भएको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको बताए । ‘बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको छ,’ तुलाधरले न्युज कारखानासँग भने ।

उनका अनुसार नेपालले सेप्टेम्बर ९ र १२ तारिख (भदौ २४ र २७ गते) मा बंगलादेशसँग खेल्नेछ । यता, पुरुष टोलीले पनि भदौ १७ र २० गते भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

एन्फाले दुई मैत्रीपूर्ण खेल फरक फरक स्थानमा खेलाउने तयारी गरेको छ । दुई खेलमध्ये एक भने दशरथ रंगशालामा खेलिनेछ । अर्काे खेल भने पोखरामा खेलाउने एन्फाको तयारी छ । तर, चेन्जिङ रुमलगायत पूर्वाधारका कामले पूर्णता नपाएकाले त्यहाँ खेल हुने सम्भावना कमै छ ।

महासचिव तुलाधरले पोखरामा खेल खेलाउने सम्भावना रहेको र पूर्वाधार निर्माणका कामले पूर्णता पाए पोखरा रंगशालामा एक खेल हुने बताए । यदि पोखरा रंगशाला तयार नभएमा दुवै मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । ‘एक खेल दशरथ रंगशालामा हुनेछ । अर्काे पोखरामा खेलाउने तयारी गरेका छौं । यद्यपि पोखरा रंगशाला तयार नभएमा दुवै खेल काठमाडौंमा हुनेछ,’ महासचिव तुलाधरले भने ।

दर्शकको बारेमा भने एन्फाले अहिले नै कुनै निर्णय लिएको छैन । यदि सरकारले दर्शकका लागि स्वीकृत दिए दर्शक रंगशाला प्रवेश गराउने एन्फाको तयारी छ । हाल एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय हुँदै सिसिएमसीमा स्वीकृतिका लागि पत्र पठाएको छ । ‘सरकारको स्वीकृतिको पर्खाइमा छौं । अहिले नै दर्शकको बारेमा भन्न सक्ने अवस्था छैन । यदि सरकारले स्वीकृत दिएमा दर्शक रंगशालामा प्रवेश पाउनेछन्,’ तुलाधरले भने ।

हाल नेपाली महिला टोली सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा तयारीमा व्यस्त छ । नेपालका लागि अस्टे«लियन प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार मात्रै २३ सदसीय टोली घोषणा गरेका छन् । उनले पहिलोपटक टोलीमा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । नेपालको उमेर समूहबाट खेलेका प्रीति राई, निशा थोकर, सविता राना मगर, रजनी थोकर, रश्मि घिसिङ, सृजनासिंह ठकुरी र विकला बिकले पहिलोपटक स्थान बनाएका हुन् ।

प्रशिक्षक ग्यारीले विभाग बाहिरका क्लबबाट तीन खेलाडीलाई मौका दिएका छन् । विभाग बाहिरबाट चन्द्रपुर नगरपालिका (रौतहट) की सविता राना र रजनी थोकर छन् भने विराटनगरबाट सृजनासिंह ठकुरीले टोलीमा स्थान बनाएकी छिन् ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने उपलब्ध हुने छैनन् । कतारको अस्पेटार अस्पतालमा घँुडाको शल्यक्रिया गराइरहेकी उनी अहिले पनि उतै छिन् ।

नेपाल र बंगलादेशबीच पछिल्लो तीन वर्षमा दुईपटक भेट भएको छ । जसमा नेपालले आफ्नो दबाब बंगलादेशविरुद्ध बनाएको छ । एक खेल नेपालले जितेको छ भने अर्काे खेल बराबरीमा टुंगिएको थियो । नेपालले एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो भने पछिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गर्दा बंगलादेशकी मासुराले आत्मघाती गोल गरेकी थिइन् । पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने बंगलादेशले भाग नै लिएन । सागमा रजत पदक जितेपछि नेपाली टोली अन्तर्राष्ट्रिय खेलविहीन छ । सागपछि नेपाली टोली र प्रशिक्षक ग्यारी फिलिप्सका लागि यो मैत्रीपूर्ण खेल पहिलो हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:५४