१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ कारोबार ठप्प

८ भदौ, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा इन्टरनेट अवरुद्ध भएको हो ।

टावरमा खराबी आएर इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न समस्या भएको छ ।

सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत कारोबार थाले पनि इन्टरनेट नहुँदा दिनहुँ भत्ता बुझ्न आउने मानिसलाई दिन नसकेको ग्लोबल आइएमई बैंकका प्रवन्धक रमेश बहादुर रावलले जानकारी दिए । बैंकमा रहेको भिस्याट सेवाले समेत काम नगर्दा काम गर्न थप समस्या बनाएको उनको भनाइ छ ।

इन्टरनेटबाट हुने सम्पूर्ण कार्यसमेत प्रभावित भएको वडा नम्बर ३ का कम्प्युटर अपरेटर राजु पार्कीले बताए । इन्टरनेट नहुँदा इमेल, फ्याक्सलगायतबाट हुने सम्पुर्ण काम रोकिएको छ ।

इन्टरनेट अवरुद्ध हुँदा स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा समेत काम प्रभावित भएको छ । एक सातादेखि काम गर्न छाडेको इन्टरनेट मर्मतका लागि वल्र्डलिंक कम्युनिकेसनलाई कर्मचारी पठाउन आग्रह गरे पनि प्राविधिकको अभाव भन्दै पन्छिने गरेको छ । न्युजकारखानाबाट 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०९:२६