२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

वरिष्ठ आयुर्वेद विशेषज्ञ डा कोइरालाको निधन

१ भदौ, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । लामो समयदेखि मुटुको समस्या झेल्दै आउनुभएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व कोइरालाका आफन्त मधुविलास पौडेलले जानकारी दिए ।

उनलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मिएका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालकसमेत छन् ।

नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका कोइरालाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा प्रभु ऋषि आयुर्वेदसमेत सञ्चालनमा ल्याएका थिए । काठमाडौँको रानीवनमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने तयारीमा रहनुभएका स्व कोइरालाले अमेरिका र युरोप पुगेर नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका सम्भावनाका बारेमा प्रवचन दिनुका साथै विरामीको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । उनी क्लासिकल हर्बल प्रोडक्ट प्रालिका अध्यक्ष छन् ।

लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन गरेका स्व कोइरालापछि नवलपरासी बसाइँसराइ गरेको थिए । हाल काठमाडौँको धापासीमा बस्दै आउनुभएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति छन्। उनका दुवै छोरा चिकित्सक रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:५७