१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सर्वोत्तम शेयर खरिद प्रकरणः कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

३२ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकारेका छन् । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराए ।

सांसद रामकुमारी झाँक्रीले भने, “यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुशासन र नैतिकता हुन पदैन र ?” जवाफमा निर्देशक साउदले भने, “नियम कानूनको परिधिभित्रै रहेर सर्वाेत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो ।

अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूना प्रश्न उब्जन दिइने छैनौँ ।” सर्वाेत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उनले भने, “आगामी दिनमा यस्ता नमूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।”

नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गरेका छन् । उनले भने, “कानून र नियम हेरी शेयर किनेकै हो । नियमले मात्र हुुदोरहेनछ, हाम्रो पछाडि समाज पनि छ, भन्ने अहिले महसुस भएको छ ।”

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुक्त गरिएका रेफ्री(निर्णायक) नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वाेत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राखे । सभापति दाहाले भने, “माननीयज्यूलाई पनि भन्न चाहन्छु आइपिओभन्दा बाहेक शेयरमा संलग्न हुुने कुराबाट आफूलाई टाढा राख्नुहोला । हामी पनि नियामक निकायजस्तै भूमिकामा छौँ । हाम्रो पनि नैतिकतासँग जोडिन्छ सचेत गराउन चाहन्छु ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । मुलुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १७:४०