२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एसएसबीले तुइन काटेकै कारण जयसिंह धामी नदीमा खसेकाे प्रतिवेदनको निष्कर्ष

२७ साउन, काठमाडाैँ । जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटेकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ । मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्थाले दार्चुलामा पुगेर स्थलगत अध्ययन गरेको समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

सरकारलाई दबाब दिने उद्देश्यले आफूहरुले छुट्टै छानबिन समिति गठन गरी घटनास्थल पठाएको संस्थाका अध्यक्ष एकराज भण्डारीले बताए । उनले संस्थाका तर्फबाट अधिवक्ता सन्तोष कोइराला र अधिकारकर्मी ललित विकलाई स्थलगत अध्ययनका लागि दार्चुला पठाएको जानकारी दिए । पीडितका परिवार, आफन्त, प्रत्यक्षदर्शी, सरोकारवालासँग भेट गरी प्रतिवेदन बनाइएको अधिवक्ता कोइरालाले बताए ।

प्रतिवेदनमा मान्छे तुइन तर्दै गरेको देख्दादेख्दै एसएसबीका जवानले तुइन काटेर अक्षम्य र मावताविरोधी अपराध गरेको उल्लेख छ । समितिले बेपत्ता धामीको अवस्था पत्ता लगाएर तत्काल परिवारको जिम्मा लगाउन र कूटनीतिक पहल गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १५:५४