बालअधिकार
-त्रिलोचन ढकाल
विशन र सिमोन घरमा पुगे । लण्डनको अल्डरशटमा थियो उनीहरूको घर । उनीहरूका साथमा एउटा छोरो पनि थियो । घरको ढोका खोल्नै लाग्दा बाहिर पुलिशभेनको कर्कश साइरन बजेको सुनियो ।
घरको ढोकैमा पुग्यो पुलिश । विशन र सिमोनलाई गिरफ्तारीको पुर्जी हस्तान्तरण गर्नु थियो । बच्चालाई घरभित्रै छाडेर उनीहरू पुलिसको कार्यालयमा पुगे ।
उनीहरुलाई देख्दा बित्तिकै पुलिश हाकिमले भने_
“बच्चालाई किन पिटेको ? बच्चा तिमीहरूको मात्र होइन । यो त युरोपकै भविष्य हो । यो महादेशको भविष्यलाई रुनेगरी पिट्न पाइँदैन ।”
“पिटेका छैनौँ हजुर !”
“भिडियो हेर !”
पुलिसले भिडियो खोलिदियो । सबैले हेरे । भिडियो देख्दा विसन र सिमोनको मुटु हल्लियो । सिमोनले कार चलाएकी थिइन् । बच्चा र विसन पछाडिको सिटमा थिए । बच्चाले बेल्टको सीमा उल्लङ्घन गर्दै निकै चकचक गरेको थियो । घरी उफ्रेको थियो । घरी झ्यालको पलेँटो खोल्न खोजेको थियो । हैरान भएपछि विसनले बच्चालाई गालामा लपेटो लगाएको थियो । चोट सहन नसकेर बच्चा डाँको छोडेर रोएको थियो ।
“कसरी आयो यस्तो ?” विसन र सिमोनले एकैपटक आश्चर्य प्रकट गरे ।
पुलिसले भन्यो_
“तपाईंको कारभन्दा ठिक पछाडि बालअधिकारवादि महिलाको कार थियो । तपाईंले गैरकानुनी हरकत गरेको हुनाले उनले भिडियो खिचेकी थिइन् । भिडियोका साथमा कार नम्बर पनि पठाईदिइन् । कार नम्बरका आधारमा पुलिश तपाईंको घर पुग्यो । अब तपाईँहरू दुवैजनालाई कडा कारबाही हुन्छ । महिनौंको जेल ।”
विसन र सिमोन अन्तरीक्षबाट धरातलमा पछारिए । उनीहरूको शरीर झन्झनायो । हत्केला र पैतालामा आगोको फिलिङ्गाले पोलेजस्तो भयो । त्यस्तै हतास मनस्थितिमा बोले_
“घरमा बच्चा एक्लै छ ।”
“त्यसोभए जरिवाना तिर्नुहोस् ।”
दुवैले कार्ड निकाले । पुलिसलाई दिए । महिनौंको कमाइ जरिवना स्वरुप असुल गर्यो पुलिसले । विसन र सिमोन शून्य मस्तिष्ककासाथ पुलिश कार्यालयबाट बाहिर निस्के ।
-आनन्दआश्रम, स्याङ्जा
प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १५:४०