२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

२७ साउन, महेन्द्रनगर । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप (दुवै मात्रा) लगाएको जानकारी दिए ।

त्यसैगरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कुँवरले बताए । त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।“

कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ ।” उनले भने,“भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ ।” विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ रहेको छ ।

तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । “हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो”, खोप प्रमुख कँवरले भने, “खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ ।”

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १३:३६